सिन्धुली ,१ फागुन – आज विश्व रेडियो दिवस संसारभर विविध कार्यक्रमहरुको आयोजना गरि मनाईदै छ । विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले विश्व रेडियो दिवसको रूपमा मनाउने गर्दछन् ।
रेडियोले मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान गरेको छ ।
रेडियोले एउटा ईतिहास बोकेको छ, सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछी आजसम्म रेडियो र यसका संरचनाहरुले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भूत अविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलोहर्जसम्मको ध्वनी तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधी बाहिरका रेडियो तरङ्गहरुलाई हामी रेडियो मार्फत् सुन्दछौं ।
नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो ।
सिन्धुली जिल्लामा पनि सामुदायीक रेडियोहरुको विकासले तिब्रता पाएको छ । जिल्लामा हाल ८ वटा सामुदायीक तथा २ वटा ब्यवसायीक रेडियो सञ्चालनमा रहेका छन भने दर्जनौं रेडियोकर्मीहरु क्रियाशिल रहेका छन ।