शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दुधौली मेयर कपः खेलको विवाद प्रहरी चौकीसम्म पुग्यो

आइतवार , माघ २२, २०७९

सिन्धुली– दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा माघ १५ गतेदेखि शुरु भएको दुधौली मेयर कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता विवादित बनेको छ । शनिबार वडा नम्बर ११ र ८ बिच भएको सेमिफाइनल खेलमा खेलाडीमाथि हातपात भएपछि विवाद उत्कर्षमा पुगेको हो ।

खेल भइरहदा वडा नम्बर ८ का समर्थक खेलमैदानमै प्रवेश गरेर आफ्नो खेलाडीलाई हतोत्साहित बनाएको ११ नम्बर वडाका खेलाडीले बताएका छन् । सो कार्य भइरहदा पनि आयोेजक नगर खेलकुद विकास समिति र रेफ्रि अजय सिंहले नजरअन्दाज गरेकोप्रति ११ नम्बर वडाले आयोजकलाई ध्यानाकर्षण गराएको छ । खेल सम्पन्न भएपछिपनि आफ्नो खेलाडीहरुमाथि कुटपिट भएको भन्दै यथाशिघ्र छानविन गरि दोषिलाई कार्वाही गर्न वडा नम्बर ११ का वडाध्यक्ष पवन कार्की, खेलकुद संयोजक मनिचन अधिकारी, कप्तान रोशन अधिकारी लगायत सम्पूर्ण खेलाडीको हस्ताक्षर सहितको निवेदन नगर खेलकुद विकास समिति र दुधौली प्रहरी चौकीमा पेश गरिएको छ । खेल सम्पन्न भएपछि आफ्ना दुई खेलाडीमाथि हेल्मेट र मुक्का प्रहार गरिएको निवेदनमा उल्लेख गरिएको छ । ८ नम्बर वडाका दुई खेलाडीले कप्तान रोशन अधिकारी र कमल कार्कीमाथि हेल्मेट र मुक्का प्रहार गरेकोले यथाशिघ्र छानविन गरि कार्वाहीको दायरामा नल्याए आगामी खेलमा दुर्घटना निम्तिन सक्ने र आफूहरु जिम्मेवार नहुने निवेदनमा लेखिएको छ । ‘घाइते कार्कीको स्वास्थ्य अवस्था तथा मानसिक अवस्था समेत यस घृणित घटनाबाट असामान्य भएको छ’, निवेदनमा उल्लेख गरिएको छ ।

११ नम्बर वडाले प्रतियोगिता स्थगित गरि यथाशिघ्र छानविन गर्न माग गरेको छ । साथै, वडा नम्बर ८ लाई प्रतियोगिताबाट बर्खास्त गर्न, आगामी खेलबाट रेफ्रि अजय सिंहलाई वञ्चित गराउन, घट्नामा संलग्न खेलाडीद्वयलाई आजिवन निलम्बन गर्न र आयोजकलाई व्यवस्थित तरिकाले खेल गराउन ११ नम्बर वडाले माग गरेको छ ।

उक्त खेलमा वडा नम्बर ८ ले १–० को अन्तरसहित विजयी भएको छ । जितसँगै वडा नम्बर ८ मा प्रवेश गरेको छ । अघिल्लो वर्षको मेयर कपको उपाधिपनि वडा नम्बर ८ ले नै जितेको थियो । आज वडा नम्बर ३ र ४ बिच सेमिफाइनलका खेल हुनेछ । विजेताले फाइनलकालागि वडा नम्बर ८ सँग खेल्नेछ । दुधौली स्थित बहुमुखी क्याम्पस खेलमैदानमा भइरहेको प्रतियोगिताकोे विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

दुधौली नगरपालिकाका कुल १४ वार्डका टिमहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २३ (सोमबार)का लागि तय गरिएपनि खेल हुने वा नहुनेमा अनिश्चित छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया