शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका खपांगीको विश्व रेकर्ड तोडियो (भिडियोसहित)

शुक्रवार , पौष १, २०७९

सिन्धुली– सिन्धुलीको गलोञ्जोर गाउँपालिका ४ तीनकन्याका १८ बर्षिय डोर बहादुर खपांगीको विश्व रेकर्ड तोडिएको छ । ७३.४३ सेन्टिमिटर (२ फिट ४.९ इन्च) उचाई रहेको खपांगीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले गत जेठ ९ गते विश्वकै होचो व्यक्ति घोषणा गरेको थियो । सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले औपचारिक रुपमा पढाइलेखाइ भने गरेका छैनन् ।

इरानका अफसिन इस्माइल गदरजादेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वकै होचो व्यक्ति घोषणा गरेसँगै खपांगीको ताज खोसिएको हो । उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् । अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् ।

जन्मिदा उनको तौल ७ सय ग्राम मात्र थियो । अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन् । जसका कारण उनी निकै खुसी छन् । ‘निरन्तरको उपचार र शारीरिक कमजोरीका कारण उसले पढ्न छाड्यो, नत्र उसलाई मानसिक समस्या छैन,’ उनका बुबा इस्माइल गदरजादे भन्छन् । अफसिन स्मार्टफोन चलाउन सिपालु छन् । तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ । ‘धेरैबेर चलाउनलाई फोन ज्यादा गह्रौँ हुन्छ। तैपनि म चलाउँछु,’ उनी भन्छन् । गाउँमा उनका लागि कुनै काम छैन । उनी कार्टुन हेरेर र सामाजिक सञ्जाल स्क्रोल गरेर समय कटाउँछन्। एक साथीको सहयोगमा उनी इन्स्टाग्राम चलाउँछन् ।

स्थानीयबासीमाझ अफसिन निकै लोकप्रिय छन् । तर, गाउँमा उनी एक्लै हिँड्न सक्दैनन् । त्यसैले बुबाआमामध्ये सधैँ एक जना उनको साथमा हुनुपर्छ । उनी आफैँ हिँड्न सक्छन्। तर, कहिलेकाहीँ अरुले बोकेको मन पराउँछन् । बच्चाका लागि बजारमा आएका कपडा उनलाई ठिक हुन्छन् । तर, बच्चाका लागि भनेर बनाइएका डिजाइन उनलाई फिटिक्कै मन पर्दैन। त्यसैले सिलाउन दिएर कपडा तयार गर्छन् उनी ।

खेल नखेले पनि उनलाई जब कुर्दिस संगीत बज्छ, तब नाच्न खुब मन पर्छ ।

६७.०८ सेन्टिमिटरका नेपालका खगेन्द्र थापामगर विश्वकै होचा व्यक्ति बनेका थिए । एक वर्षपछि उनको कीर्तिमान तोडियो । फेरि २०१२ मा नेपालका चन्द्र डाँगी सबैभन्दा होचा व्यक्ति भए । ५४.६ सेन्टिमिटरका उनी हालसम्म भेटिएकामध्ये सबैभन्दा होचा व्यक्ति हुन् । तर, २०१५ मा उनको निधनपछि थापामगर फेरि होचा व्यक्ति बने । २०२० मा उनको पनि मृत्यु भयो । त्यसपछि भारतकी ज्यो एमेगलाई सन् २००९ मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया