सिन्धुली– शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल छनोट प्रतियोगितामा सिन्धुलीको दुधौली स्पोर्टस् क्लब क्वाटरफाईनलमा पुगेको छ । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भएको खेलमा दुधौली क्लबले बिरगंज युथ एकेडेमिलाई ५–० को गोल अन्तरले जितेसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ । कृष्ण थापा, रवि शंकर चौधरी, अन्जन हमाल, दिपेश भुजेल र रोशन अधिकारीको समान १/१ गोलको मद्धतले दुधौली क्लब क्वाटरफाइनलमा पुगेको क्लबका व्यवस्थापक राजन महत्तो ‘निखिल’ ले जानकारी दिनुभयो ।
यसअि, समूह ‘के’ मा रहेको दुधौली एससीले दिव्यश्वरी एफसीलाई ३–० गोलले हराएको थियो । क्वाटरफाइनलको खेल आगामी कात्तिक तेश्रो सातादेखि हुने निखिलले बताउनुभयो ।
शनिबारनै भएको खेलमा सिन्धुलीको स्मार्ट एफसि र काठमाडौँको अनुशासित क्लबको खेलमा ३–३ गोलसहित बराबरी भएको छ । यसअघि स्मार्ट क्लबले बागमती युवा क्लबसँग ५–० को गोल अन्तरले पराजित भएको थियो । स्मार्ट क्लबले एक खेलमा हार र अर्कोमा बराबरी गर्दै छनोटबाट बाहिरिएको छ ।
एन्फाले यस वर्षको सी डिभिजन लिग छनौटमा सहभागि हुने ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ । जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका छन् । समूहको विजेता क्लब नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई पनि २ समूहमा विभाजन गरिएको छ । नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।