सिन्धुली– शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल छनोटमा शुक्रबार (आज) सिन्धुलीको दुधौली स्पोर्टस् क्लबले बिरगंज युथ एकेडेमिसँग भिड्ने भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा शुक्रबार दिउँसो १२ बजेर १५ मिनेटमा खेल शुरु हुने दुधौली स्पोर्टस् क्लबका व्यवस्थापक राजन महत्तो ‘निखिल’ ले जानकारी दिनुभयो । यसअघि, समूह ‘के’ मा रहेको दुधौती एससीले दिव्यश्वरी एफसीलाई ३–० गोलले हराएको थियो । बुधबार भएको सो खेलमा कृष्ण थापाले ह्याट्रीक गोल गर्नुभएको थियो । व्यवस्थापक निखिलका अनुसार शुक्रबार (आज) को खेल जित्न सके दुधौली एससी क्वाटरफाइनलमा पुग्नेछ ।
त्यस्तै, सिन्धुलीबाट सहभागी स्मार्ट फुटबल क्लब भने बागमती युवा क्लबसँग पराजित भएको छ । बागमती युवा क्लबले फराकिलो जितसहित स्मार्ट क्लबलाई पराजित गरेको हो । बुधबारनै भएको आफ्नो पहिलो खेलमा स्मार्ट एफसीलाई ५–० गोल अन्तरले जपराजित गर्दै बागमतीले विजयी शुरुवात गरेको हो ।
शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल छनोटमा सिन्धुलीबाट चारवटा क्लब सहभागी रहेको आयोजकले जनाएको छ । सिन्धुलीबाट दुधौली एससी र स्मार्ट एफसि सहित दुधौली नगरपालिका–४ नमुना जनउत्थान क्लब र मरिणको एउटा क्लब सहभागी रहेको छ ।
एन्फाले यस वर्षको सी डिभिजन लिग छनौटमा सहभागि हुने ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ । जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका छन् ।
कार्तिक २४ गतेसम्म संचालन हुने छनौट प्रतियोगितामा हरेक समूहको विजेता क्लब नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणलाई पनि २ समूहमा विभाजन गरिएको छ । नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् ।