काठमाडौं -उमेर नपुगेकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बनमा परेका सन्दीप लामिछाने तत्काल काठमाडौं आउने कुनै सम्भावना नरहेको बुझिएको छ । लामिछाने काठमाडौं आउन लागेका हुन् ? भनेर सोधेको जिज्ञासामा प्रहरीको उच्च स्रोतले ‘होइन’ भनेको छ ।
‘हामीले पनि जताततै आज आउन लागेको हल्ला सुन्यौं । तर अहिलेसम्म कुनै संकेत प्राप्त भएको छैन,” स्रोतले भन्यो । केही दिनअघि लामिछानेले सामाजिक सञ्जालमा आफू छिट्टै नेपाल फर्केर प्रहरी अनुसन्धानमा सघाउने बताएपछि उनी ढिलोमा आजसम्म स्वदेश फर्कने अनुमान लगाइएको थियो ।
यता नेपाल प्रहरीले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा लामिछानेलाई कालोसूचीमा राख्नुपर्ने व्यहोरो उल्लेख गरेर लिखित जानकारी गराइसकेको छ । उनी विमानबाट काठमाडौं ओर्लिई अध्यागमनमा नटेक्दै प्रहरीले विमानको भर्याङमै पुगेर नियन्त्रणमा लिन आवश्यक तयारी गरेको बताइन्छ ।
सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्न वेस्ट इण्डिजमा छन् । उनीमाथि गत मङ्गलबार १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । लामिछानेमाथि भदौ ५ गते राति गौशाला, पिंगलास्थानको काठमाण्डौ इन होटलमा किशोरीलाई पटक पटक बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कार आरोप लागेपछि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाईं लड्न तयार रहेको र खेल छाडेर छिट्टै नेपाल आउने पनि बताएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनलाई अस्ति कप्तान पदबाट निलम्बन गरेको छ ।