शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

राजनीतिमा एकपछि अर्को गरेर उदाउँदै गुण्डा नाइके

मंगलवार , भाद्र २१, २०७९

काठमाडौँ – गुण्डागर्दीको दुनियाँमा सिन्धुपाल्चोकका राजेन्द्रबहादुर गोर्खाली ‘राजु गोर्खाली’ र गोरखाका मिलन गुरुङ उर्फ चक्रे मिलन नौला नाम होइनन् । तिनै राजु गोर्खाली र चक्रे मिलन ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।

चक्रे मिलनलाई नेकपा एमालेले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ । गोरखा एमालेको आइतबार बसेको बैठकले उनलाई सिफारिस गरेको हो । उनीसँगै एमालेले अन्य दुई जना दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको छ ।

त्यस्तै, गोर्खालीलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आइतबार बागमती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको सिफारिस सूचीमा गोर्खालीको नाम सिन्धुपाल्चोक–२ बाट छ । सिन्धुपाल्चोक– २ बाट गोर्खालीसहित कांग्रेसले पूर्वराज्यमन्त्री विष्णुविक्रम थापासहित अन्य तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

प्रहरी अभिलेखमा चक्रे मिलन र गोर्खाली दुवै ‘ए’ श्रेणीका गुण्डा हुन् । यद्यपि अहिले भने उनीहरूको पहिचान राजनीतिक नेताको बन्न लागेकाे छ । अब जिल्ला तहबाट सिफारिस भएर आएका चक्रे मिलन र राजु गोखार्लीलाई एमाले र कांग्रेसको केन्द्रबाट उम्मेदवार बनाएर चुनाव जिते उनीहरू दुवैले ४ मंसिरपछि प्रतिनिधिसभाका सदस्यको लोगो पहिरिनेछन् । तर उनीहरूलाई पार्टीले उम्मेदवार बनाउने वा नबनाउन कुनै टुंगाे भने छैन ।

उसो त कांग्रेसको १४औँ महाधिवेशनमा गोर्खाली लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए । राजु गोर्खाली पछिल्लो समय भने काठमाडौँको चाबहिल र चक्रे मिलन स्वयम्भु बस्दै आएका छन् ।

यस्तो छ, गोर्खाली र चक्रेको ट्र्याक रेकर्ड

राजु गोर्खाली र चक्रे मिलन दुवैको अपराधको केन्द्र राजधानी काठमाडौं हो । उनीहरू दुवै जना गिटी–बालुवाको अवैध व्यापारमा संलग्न हुँदै आएका थिए । गुण्डागर्दी र अवैध धन्दाबाट आर्जित अकुत सम्पत्तिकै बलमा उनीहरूले दलीय ओत पाएका हुन् । राजु गोर्खालीले ०५९ मा काठमाडौंको दरबारमार्गको रोयल डिस्कोमा राकेश लिम्बूमाथि खुकुरी प्रहार गरी हत्या गरेकाे आराेप लागेकाे थियाे । उक्त डिस्को उनले नै सञ्चालन गर्थे ।

आफ्नोभन्दा लिम्बूको बेबिलोन डिस्को बढी चलेको भन्दै गोर्खालीले लिम्बूसँग दुस्मनी साँधेर हत्या गरेको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । पछिल्लो समय ०७५ मा काठमाडौं मलका व्यवसायीलाई धम्क्याएरै धेरै भाडा असुली गरेको अभियोगमा समेत गोर्खाली पक्राउ परेका थिए ।

प्रतिक्रिया