शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा लोप हुँदै रैथाने शारीरिक खेल

शनिवार , श्रावण २१, २०७९

सिन्धुली – सूचना प्रविधिको पहुँच र विश्वव्यापीकरणको प्रभावका कारण सिन्धुलीका प्राय : सबै ग्रामीण क्षेत्रबाट परम्परागत रैथाले खेल लोप भएका छन् । विगत तीन दशकको अवधिमा धेरै शारीरिक खेल लोप भए सकेका र कतिपय रैथाले खेल लोपोन्मुख अवस्थामा पुगेका खेलप्रेमीले बताएका छन् ।

कुनै समय नेपालको राष्ट्रिय खेलको मान्यता पाएका डण्डिबियो र कपर्दी अहिले लोपोन्मुख अवस्थामा छन् । गुच्चा, चम्चा–गुच्चा, खोपी, बागचाल, रुमाललुकाइ, गिर, घुर्रा, भाले जुधाइ, रस्सी तान्ने, खुट्टी, गट्टा, चोर पुलिस, ठेलो, घैटो फुटाइलगायत रैथाने शारीरिक खेल लोप भएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत खेललाई खेलकुदभित्र समेटेको भए पनि परम्परागत शारीरिक खेलको विकास र संरक्षणका लागि कुनै पहल नगरेको गुनासा व्यापक छन् ।

बालबालिका मोबाइल र इन्टरनेटका क्रेजी भएका कारण बालापनका रैथाने रोमाञ्चक खेल अहिले लोप भएर गएका कमलामाई नगरपालिका–४ का बयोवृद्ध रामबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार माटोको भाँडाकुटी बनाउने, चिलाउने वा चरिनंग्रेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री गर्ने, रुखको हाँगा हल्लाएर मोटर चढेको महुसस गर्ने वा सलाइको बट्टामा धागोले जोडेर बनाएको टेलिफोनमा साथी संगाति मिलेर कुराकानी गर्दै खेल्ने रोमाञ्चक खेल अहिले लोप भएर गएका छन् ।

कमलामाई नगरपालिका–३ चपौलीका ८७ वर्षीय पदमनाथ देवकोटका अनुसार भमरो, मौरी, झिंगा वा गुह्ये कीरालाई सलाइको बट्टाभित्र राखेर ‘रेडियो’ बजाउनेदेखि भदौरे कीराको पुच्छरमा डोरी बाँधेर लिइने मनोरञ्जन अहिले केवल इतिहास भएका छन् । प्रविधिको विकाससँगै सहरी र ग्रामीण भेगका बच्चा अहिले शारीरिक अभ्यास हुने खेल खेल्न छाडिसकेका छन् ।

“हाम्रो पालामा कागजका ढुंगा बनाएर पानीमा चलाइन्थ्यो । हावामा कागजकै जहाज बनाएर उडाइन्थ्यो । अहिलेका बालबालिका मोबाइलमै झुम्मिन्छन् र घोप्टो परेर नानाभाँतिका घोप्टेखेल मोबाइलमै खेल्छन् । शारीरिक खेल त अब हराएर गए”, उहाँले भन्नुभयो । हुन पनि अहिले न बालबालिकाले साथी संगातीहरुसँग रौसिँदै बालापनमा खेल्नु पर्दै शारीरिक खेलहरु खेल्न पाएका छन्, न यस्ता खेल खेल्न विद्यालय र अभिभावकले नै बालबालिकालाई प्रोत्साहित गर्छन् ।

अहिलेका बालबालिका फ्रिफायर, पब्जी जस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यास विनाका खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा ह्रास आउने गरेको सिद्वस्थलि बेर्डिङ स्कुल सिन्धुलीमाडीका प्रिन्सिपले ओम प्रधानले बताउनु भयोबताउनुभयो ।

हाम्रा रैथाने खेल वातावरणमैत्री हुनुका साथै आर्थिक हिसाबले समेत सस्तो खालका रहेकानेपाल प्रहरीका सेवा निवृत सई लालबहादुर श्रेष्ठले बताउनुभयो । शारीरिक स्फुर्ति,मनोरञ्जन र भाइचाराको सम्वन्धसमेत स्थापित गर्न सघाउपुर्याउने यस्ता खेलहरु लोप हुँदै जानुभएको जनस्वास्थ्य र राष्ट्रिय पहिचान दुवैमा घाटा पुग्नु भएको उहाँले जानकारी दिनुभयो ।

पुराना रैथाने खेलहरुमध्ये केही खेलहरु ऋतु विशेषमा खेलिने खालका छन् भने केही खेल मात्रै बाह्रै मास खेल्ने खालका रहेका श्रेष्ठको भनाइ छ । उहाँका अनुसार डण्डीबियो हिउँद महिनामा धान काटेपछि खाली भएको खेतमा खेल्ने गरिन्छ । बाघचाल बाह्रै महिना खेल्ने गरिन्छ । यसमा शारीरिकभन्दा मानसिक कसरत हुन्छ ।

प्रतिक्रिया