शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ साल जेठ १६ गते साेमवारको राशिफल र मौसम

सोमवार , जेठ १६, २०७९

२०७९ जेठ १६ गते, साेमवार, ३० मे २०२२। ज्येष्ठ कृष्णपक्ष औँसी तिथि, १६ः०१ बजेपछि शुक्लपक्ष प्रतिपदा। कृत्तिका नक्षत्र, ६ः५८ बजेदेखि राेहिणी। चन्द्रराशि– वृष।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन्। अनपेक्षित बिलले आर्थिक बोझ बढाउनेछ। परिवार र साथीहरूसँग रमाइलो समय बित्नेछ। आँखाले कहिल्यै झूठ बोल्दैन र आफ्नो साथीको आँखाले तपाईंलाई साँच्चै आज केहि विशेष भन्नेछन्। आफ्ना क्यारियर सम्बन्धित निर्णयहरू आफैं गर्नुहोस् र तपाईंलाई लाभ हुनेछ। आज आफ्नो जोडीसँग शारीरिक सम्बन्ध सबै भन्दा राम्रो हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका थप स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशमा संयमित हुनुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। घरेलु काममा अलमल बढ्न सक्छ। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। आर्थिक क्रियाकलापमा कमै फाइदा हुनेछ। प्रयत्न गर्दा पछिका लागि काम बन्न सक्छ। साइनो गाँस्नेहरूबाट व्यवहारमा सतर्क रहनुहोला।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

तपाईँको दिन शुभ रहोस् ।

०७९ साल जेठ १६ गते साेमवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

साेमवार दिउँसो :– प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। मधेश प्रदेशका थोरै भू-भागमा हल्का देखि मध्यम वर्षाको र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

साेमवार राती :– देशका पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया