सिन्धुली– काँग्रेसले सिन्धुलीमा औपचारिक गठबन्धन माओवादीसँग र वास्तविक गठबन्धन एमालेसँग गरेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्र्चाज तथा बागमति प्रदेश सासंद राजन दाहालले बताउनुभएको छ । जिल्लाको सुनकोशी गाउँपालिकाको मत परिणाम हेर्दा काँग्रेसले माओवादीसँग औचारिक गठबन्धन गरेपनि वास्तविक गठबन्धन एमालेसँग गरेको देखिने उहाँले बताउनुभएको हो ।
“सुनकोशी गाउँपालिकाको सबै वडाको मत गन्दा म आफै बसेको थिए । कुनै वडाबाट काँग्रेसका एक भोट पनि झुक्किएर माओवादीलाई आएको छैन । गठबन्धबाट उम्मेदवारी दिएका काँग्रेसका ४ वडा अध्यक्ष हामीले जितायौँ, हामीले तिन वडा अध्यक्ष दिएको थियौँ दुइ वडामा आफ्नै बलले जित्यौँ, एक वडामा काँग्रेसले बागी वडा अध्यक्ष उठाएर मत काट्ने । आफ्नो मत सरक्षण गर्ने र गाउँपालिकाको अध्यक्षमा सुर्यलाई भोट हाल्ने गरेको देखियो ,” उहाँले भन्नुभयो ।
स्थानिय चुनावमा गठबन्धन सोचे जस्तो प्रभावकारी नभएको दाहालले बताउनुभयो । “आफ्नो तर्फबाट इमान्दारपूर्ण मत काँग्रेसलाई हाल्यौँ तर काँग्रेसका मत भने हामीलाई आएन । गठबन्धन दलको निणर्य प्रति काँग्रेस इमान्दार नभएको प्रमाणित भएको छ । सबै भन्दा बढी सुनकोशी गाउँपालिकामा त्यस्तो देखियो ,” उहाँले भन्नुभयो ।
माओवादी केन्द्रले एक भोट पनि यता उता नगरि जिल्लाभरिका सबै वडा पालिकामा गठबन्धनलाई मत हालेको दाहालले ठोकुवा गर्नुभयो । जिल्लाका सबै पालिका तथा वडामा गठबन्धन सोच अनुसार सफल नभएको उहाँले बताउनुभयो ।
यता नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति नेता मोहनप्रसाद बराल भने स्थानिय तह निर्वाचन २०७९ मा गठबन्धन सफल भएको बताउनुहुन्छ । उहाँले सबै पालिका तथा वडामा गठबन्धन दलले सफलता प्राप्त गरेको बताउनुभयो ।