शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७८ साल चैत्र १६ गते बुधबारको राशिफल र मौसम

बुधवार , चैत्र १६, २०७८

वि.सं.२०७८ साल चैत्र १६ गते । बुधबार । ईश्वी सन् २०२२ मार्च ३० तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–त्रयोदशी, दिउसो ०१ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–शतभिषा, बिहान ११ बजेर ०३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शुभ, दिउसो ०१ बजेर २४ मिनेट उपान्त शुक्ल । करण– वणिज, दिउसो ०१ बजेर २५ मिनेट उप्रान्त भद्रा, रातको १२ बजेर ५३ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३० घडी ५१ पला । पञ्चक, वारुणी योग,पिशाचचर्तुदशी, पाशाचस्ह्रेपूजा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर छ, कर्तव्यपरायण रहनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। भाग्यले साथ दिए पनि परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ। केही काम बने पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप बढ्न सक्छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूलाई कमजोर पार्न सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। ले दुश्मनी राख्नेहरूले समेत मित्रताका हात अघि बढाउनेछन्।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातलागी हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिएला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ भने काममा पनि केही उल्झन आउन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि पनि केही खर्च हुन सक्छ। विदेश यात्रा, व्यापार तथा दान-दातव्यमा खर्च बढ्नेछ। आफन्तजन टाढा हुनेछन्। खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

तपाईँको दिन शुभ रहोस् ।

०७८ साल चैत्र १६ गते बुधबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

बुधबार दिउँसो :– प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

बुधबार राती :– प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया