शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

काँग्रेसको अधिवेशन सार्ने ठाउँ सकियो: गगन थापा

सोमवार , कार्तिक २२, २०७८

काठमाडौं – नेपाली काँग्रेसका युवा नेता गगन थापाले नेपाली काँग्रेसको १४औं अधिवेशन मंसिरभित्र सम्पन्न नगरे काँग्रेस निर्वाचन आयोगमा पुनः दर्ता गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्वल बरालकी आमाको निधनमा शोक प्रकट गर्न सिन्धुली पुगेका नेता थापाले वडा कार्यलायमा भएको कार्यकर्ता भेलामा काँग्रेसको अधिवेशन सार्ने ठाउँ सकिएकाले अधिवेशन हुँदैन कि भन्ने चिन्ता छोडेर अधिवेशनमा जुट्न आह्वान गरे ।

“मंसिरभित्र महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्त्व चयन नगरे पुसको पहिलो साता नेपाली काँग्रेस पार्टी पुनः निर्वाचन आयोगमा दर्ता गर्नुपर्छ । १३औं महाधिवेशतनबाट निर्वाचित नेतृत्त्वलाई त्यसपछि आयोग, ऐन र संविधानले चिन्दैन,” नेता थापाले भन्नु भयो, “त्यसैले महाधिवेशन हुन्छ कि हुँदैन भन्ने चिन्ता छोडेर महाधिवेशनको तयारीमा जुट्नुहोस् । अधिवेशन कुनै पनि हालतमा हुनेछ ।”

उनले अधिवेशनमा फलानो मेरो निकट छ भनेरभन्दा फलानो नेतृत्वमा आयो भने जनताको आकर्षण बढ्छ र काँग्रेसलाई विकृति मुक्त बनाउन सकिन्छ भनेर नेतृत्व छान्न पनि सुझाव दिए ।

“१४औं महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले काँग्रेसलाई चार वर्ष हाँक्छ । यसबीचमा हामीले धेरै कुरा गर्नुछ,” थापाले भन्नु भयो, “अधिवेशन सकिएलगत्तै झण्डा उठाएर स्थानीय चुनावमा जानुछ । त्यसैले अधिवेशनमा धेरै तिक्तता नबढाउनुस् । त्यसपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि पार्टीलाई बहुमत दिलाउनुछ । हाम्रो नेतृत्त्व हेरेर जनताले भोट बढाउने वा घटाउने भनेर निर्णय लिनेछन् ।”

उहाँले काँग्रेसले अस्वभाविक गठबन्धन नगर्ने भन्दै एक्लै चुनाव लडेर बहुमत ल्याउन १० लाख भोट बढाउनुपर्ने बताउनु भयो । उहाँले अदालतमा जारी विवादमा काँग्रेसले सही अडान नलिए काँग्रेसका लागि क्षति हुने बताउनु भयो ।

“अदालतको विषयमा काँग्रेस सही ठाउँमा उभिएन र अदालतभित्रको लडाईमा काँग्रेसले सत्यको पक्ष लिन सकेन भने लाखौं मतदाताले काँग्रेसलाई छोड्न सक्छन् किन भने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउँदा मतदाता घटेको हामीले हेरेका छौं,” थापाले भन्नु भयो, “३० लाख नयाँ मतदाता थपिदै छन् । ती मतदातालाई काँग्रेसलाई मतहाल्ने बनाउनुछ । काँग्रेसको महाधिवेशनबाट नेतृत्व छान्दै गर्दा त्यो नेतृत्वलाई देखाएर गाउँ गाउँका मतदाता आकर्षण गर्नुछ भन्ने कुरा नविर्सनुहोला ।”

उहाँले काँग्रेसले नयाँ नेतृत्त्व देखाएर ५ वर्ष सुशासन दिन्छौं भनेर आस्वस्त पार्दै भोट माग्नुपर्ने भन्दै वर्तमान नेतृत्त्वलाई नै निरन्तरता दिए त्यसले भोलिका दिनमा काँग्रेसलाई शासन गर्ने ठाउँबाट शासित हुने ठाउँमा पुर्याउने चेतावनी दिनु भयो ।

 

प्रतिक्रिया