सिन्धुली,३२ साउन – कोरोना भा इरस सं क्रमणले थिलथिलो परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् ।
“महान चाड नजिकिए पनि दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुँदा व्यापार दैनिक ५/७ प्रतिशत मात्रै हुन्छ”– सिन्धुली सुनचाँदी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष नरेन्द्र बिश्वकर्मा भन्नुभयो, “व्यापार व्यवसाय प्रायः ठप्प रहेको छ ।”
दशैँ तिहारभन्दा पनि तिजमा सुनको व्यापार धेरै हुने भए पनि यस वर्ष कोरोनाको त्रास र मूल्य वृद्धिले गर्दा व्यापार नहुने उहाँको भनाइ छ । उहाँका अनुसार विगत वर्षमा भन्दा यस वर्ष सुन व्यापार निकै न्यून हुने गरेको छ ।
पहिले दैनिक ५०/६० जना ग्राहक आउने गरेको भए पनि अहिले दैनिक ५/१० जना मात्रै आउने गरेको उहाँको भनाइ छ । विगतका वर्षमा तीजको समयमा सुनको अभाव हुने गरेको भए पनि यस वर्ष भने नबिकेर बजारमा प्रशस्त सुन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिले दैनिक १०/१५ तोला सम्म कारोवार हुने गरेको भए पनि अहिले भने दैनिक १/२ तोला मात्रै धौधौ कारोवार हुने गरेको छ ।
मूल्य बढेका कारण खरिद गर्नेभन्दा पनि साटफेर गर्ने, बेच्ने तथा मूल्य सोध्ने धेरै आउने गरेको उहाको भनाई छ । कोरोना त्रास बढिरहेमा किन्ने भन्दा बेच्नेको संख्या अझै बढ्न सक्ने उहाको आँकलन छ ।
कारोबार ठप्प हुँदा घर भाडामा लिएर व्यवसाय गर्नेलाई भाडा तिर्नसमेत समस्या हुने गरेको छ । पहिलेको सुन स्टक राखेकालाई भने मूल्यवृद्धिले त्यस्तो प्रभाव नपार्ने उहाँको भनाइ छ । सुनचाँदीको व्यवसायमा धेरै लगानी हुने गरेकाले अहिलेको अवस्थामा व्यवसायी विस्थापित हुने खतरा बढेको उहाँको भनाई छ ।
अहिले सुन खरिदका लागि काठमाडौँ नै जानुपर्ने अवस्था रहेको भन्दै अब स्थानीय बैंकबाटै नै सुन खरिद गर्ने वातावरण मिलाएमा व्यवसायीलाई सहज हुने समेत उहाँको भनाइ छ । कोरोनाकै कारणले यसवर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि यस्तो समस्या निम्तिएको उहाँले बताउनु भयो ।