काठमाडौं १३ चैत – विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि कुखुराको मासुको मूल्य घटेको छ। केही समयअघि आकासिएको मासुको मूल्य हाल २५० प्रतिकिलो पुगेको छ। मासुको माग घटेकोले मूल्य पनि घटेको व्यवसायीहरु बताउँछन्।
पछिल्लो समय विश्व स्वास्थ्य संगठनले पशु तथा पशुजन्य वस्तुबाट कोरोना संक्रमण बढ्न सक्ने औँल्याउँदै नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको बताएको थियो । नेपाल उच्च जोखममा रहेको औँल्याएपछि नेपाल सरकारले सचेतना अपनाउन थालेको छ । सचेतनास्वरूप सरकारले होटेल व्यवसाय बन्द गर्नेलगायतका निर्णय गरेपछि मासुको मागमा गिरावट आएको हो ।
खाद्य विज्ञहरूले मासु उपभोग गर्दा सावधानी अप्नाएर मात्रै उपभोग गर्न आग्रह गरेका छन् । मासु उपभोग गर्दा सावधानी अपनाएर उपभोग गर्न सकिने विज्ञहरु बताउँछन्।
‘पशुपन्छीबाट कोरोना सर्छ भन्ने पुष्टि भइसकेको छैन । आशंका मात्रै गरिएको हो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर खत्रीले भने, ‘राम्ररी पकाएर मासु खाँदा त्यति जोखिम हुँदैन ।’
त्यस्तै सुरुमा कोरोना संक्रमण देखिएका मुलुकबाट मासु तथा मासुजन्य वस्तुको आयात रोकेकाले नेपाली उत्पादनलाई राम्ररी पकाएर उपभोग गर्दा त्यति जोखिम नहुने खत्रीले बताए ।
यसअघि सरकारले गत फागुन २७ गते कोरोना संक्रमित मुलुकबाट हुने मासु तथा मासुजन्य वस्तुको आयातमा रोक लगाइसकेको छ ।