काठमाडौं,१८ फागुन – नियमित कार्यकाल सकिनु दुई दिनअघि सभापति शेरबहादुर देउवाले विभाग गठन गनु भएको छ । उहाँले शनिबार एक दर्जन विभागमा प्रमुख मनोनीत गर्नु भएको छ । ४७ मध्ये १३ विभागमा प्रमुख मनोनीत गरिएको छ ।अन्नपुर्ण पोष्टमा खवर छ ।
पार्टी विधानअनुसार महाधिवेशनको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ । संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वयमा रमेश रिजाल, मुस्लिममा फरमुल्लाह मन्सुर र स्थानीय तह समन्वयमा अर्जुनप्रसाद जोशी मनोनीत हुनु भएको छ ।
सभापति देउवाले वित्तीय तथा सहकारी संस्था समन्वयमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेस समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुणमा शंकर भण्डारीलाई जिम्मेवारी तोक्नु भएको छ । आदिवासी जनजातिमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वयमा गोविन्द भट्टराई, उद्योग व्यापारमा चीनकाजी श्रेष्ठ, सूचना, सञ्चार तथा प्रचारमा प्रवक्ता विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियनमा शिवप्रसाद हुमागाईंलाई जिम्मेवारी दिइएको छ । १३ विभाग प्रमुखमध्ये १२ जना सभापति देउवा निकट हुन् भने हुमागाईं कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।
काँग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल फागुन १९ गते सकिँदै छ । पार्टीले अर्काे वर्ष फागुन ७ देखि १० गतेभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी एक वर्ष कार्यकाल थप्ने निर्णय यसअघि नै गरिसकेको छ ।
सभापति देउवा बाँकी विभाग पनि चाँडै गठन गर्ने तयारीमा हुनु हुन्छ । उहाँले शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोनमार्फत विभागमा बस्ने नेताहरूको नाम दिन आग्रह गर्नु भएको थियो । तर नेता पौडेलले कार्यकालको अन्तिममा विभाग गठनको औचित्य नरहेको भन्दै नाम नदिने जवाफ दिनु भएको थियो ।
पौडेलनिकट नेता प्रकाशमान सिंहले विभाग गठनप्रति असहमति जनाउनु भएको छ । उहाँले १४ औं महाधिवेशनलाई प्रभावित गर्ने गरी कार्यकालको अन्तिममा विभाग गरिएको भन्दै असन्तुष्टि जनाउनु भयो । “पार्टीको महाधिवेशनको मिति तोकिइसकेपछि आचारसंहिता लागू भइसकेको छ । यो त महाधिवेशनलाई प्रभावित गर्ने नियतले गर्नुभएको छ,” नेता सिंहले भन्नु भयो, “१३ औं महाधिवेशन सकिएको दुई महिनाभित्र गठन गर्नुपर्ने हो। विधानले निर्दे्शित गरेका कार्य गर्न र संगठनलाई पूर्णता दिन हामीले बारम्बार भन्दै आएका हौं । उहाँले त्यो गर्नुभएन ।”
पाँच आमन्त्रित सदस्य थप
सभापति देउवाले पाँच आमन्त्रित सदस्य पनि मनोनीत गर्नु भएको छ । मनोनीत हुनेमा कृष्णकिशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहरनारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) हुनु हुन्छ ।