सिन्धुली,०४ मंसिर — सिन्धुलीमा सवारी दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । गत कात्तिक महिनामा जिल्लाभर ३६ वटा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ । दुर्घटनामा ५१ वटा सवारीसाधन संलग्न भएका थिए । दुर्घटनापछि ९२ जनाको उद्धार गरिएको तथ्यांकले जिल्लाको सडक सुरक्षा अवस्था र दुर्घटना न्यूनीकरणका उपायमाथि गम्भीर ध्यान दिनुपर्ने देखाएको छ ।
सिन्धुली भौगोलिक अवस्थाका दृष्टिले जटिल जिल्ला हो । यहाँबाट सञ्चालन हुने बीपी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग,मदनभण्ण्डारी राजमार्ग र अन्य सडक सञ्जालमा हुने सवारी आवागमनले जिल्लालाई संंघिय राजधानी पूर्वी तथा मध्यपहाडी र तराई क्षेत्रसँग जोडेको छ । तर, सडकको बनावट, भौगोलिक जोखिम र सवारी चापका कारण यी सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
विशेषगरी बीपी राजमार्गको खुर्कोट–नेपालथोक–भकुण्डेबेँसी खण्डमा घुम्ती, साँघुरा सडक, तीव्र मोड र नदी किनारका जोखिमपूर्ण क्षेत्र दुर्घटनाका दृष्टिले संवेदनशील मानिन्छन् । त्यस्तै, मध्यपहाडी राजमार्गका पहाडी तथा घुमाउरा खण्डमा सडकको अवस्था, भिरालो भूभाग र मौसमले सवारी सञ्चालनलाई चुनौतीपूर्ण बनाउँछन् । जिल्लाका अन्य ग्रामीण तथा सहायक सडकमा पर्याप्त स्तरोन्नति नहुनु, सडकको चौडाइ कम हुनु र वर्षात्का कारण बिग्रिएका संरचनाको समयमै मर्मत नहुनुले पनि दुर्घटनाको जोखिम बढाउँछ ।
दुर्घटनाका कारणमध्ये मौसमी अवस्था पनि महत्वपूर्ण देखिन्छ । कात्तिक महिनामा बिहान र साँझ लाग्ने हुस्सु, तुषारो, चिसोका कारण सडक चिप्लो हुनु तथा दृश्यता कम हुनुले चालकलाई सवारी नियन्त्रणमा कठिनाइ हुन सक्छ । पहाडी सडकमा अचानक देखिने मोड, ओरालो र सडकको सतहमा हुने परिवर्तनले यस्तो जोखिम थप बढाउँछन् ।
यद्यपि दुर्घटनाका सबै कारण सडक र मौसमलाई मात्र मान्न मिल्दैन । तीव्र गति, जथाभावी ओभरटेक, ट्राफिक नियमको बेवास्ता, चालकको थकान, असावधानी र सवारीसाधनको यान्त्रिक अवस्थाप्रति पर्याप्त ध्यान नदिनु मानवीय तथा प्राविधिक जोखिमका प्रमुख पक्ष हुन् । सडकको अवस्था र मौसमअनुसार गति समायोजन नगर्दा सामान्य कमजोरीसमेत गम्भीर दुर्घटनामा परिणत हुन सक्छ ।
एक महिनामै आठ जनाको ज्यान जानु र ९४ जना घाइते हुनु सामान्य तथ्यांक होइन । यसले सडक सुरक्षालाई नियमित ट्राफिक जाँच र दुर्घटनापछिको उद्धारमा मात्र सीमित नराखी पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नियमनसँग जोड्नुपर्ने आवश्यकता औँल्याएको छ ।
बीपी राजमार्गसहित मध्यपहाडी राजमार्ग,मदनभण्डारी राजमार्ग र ग्रामीण सडकका जोखिमपूर्ण खण्ड पहिचान गरी संकेत चिन्ह, सुरक्षा बार, सडक मर्मत तथा निगरानी प्रभावकारी बनाउन आवश्यक छ । त्यसैगरी चालकलाई जिम्मेवार बनाउने अभियान, सवारीसाधनको नियमित परीक्षण र ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न सके दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ । सडक पूर्वाधारको विकाससँगै सुरक्षित यात्राको प्रत्याभूति गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।