बिहिवार, मंसिर ३ गते २०८३

Thursday 19th November 2026

सुनकोशीमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा दुई जना घाइते

बिहिवार , मंसिर ३, २०८३

सिन्धुली,०३मंसिर– सिन्धुलीको सुनकोशी गाउँपालिका–६ रातेडाँडास्थित बीपी राजमार्गमा मोटरसाइकल, स्कार्पियो र विंगर एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बुधवार दिउँसो करिब २ः५६ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बिहवार जानकरी दिएको छ ।

प्रहरीका अनुसार ढल्केबरबाट काठमाडौं जाँदै गरेको धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर निवासी २३ वर्षीय प्रशान्त सिंहले चलाएको बा.४६प २२८४ नम्बरको बुलेट मोटरसाइकलले ओभरटेक गर्ने क्रममा काठमाडौं–बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–०२८च २७४८ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको थियो ।

स्कार्पियोमा ठोक्किएपछि उछिट्टिएको मोटरसाइकल विपरीत दिशाबाट अर्थात् बर्दिबासबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०२–००१ज ०१०४ नम्बरको विंगरमा समेत ठोक्किएको प्रहरीले जनाएको छ । विंगर धनुषाको शहीदनगर नगरपालिका–३ निवासी ३५ वर्षीय रामप्रताप यादवले चलाएका थिए । स्कार्पियोका चालक सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी ५५ वर्षीय मेखबहादुर लामा थिए ।

दुर्घटनामा स्कार्पियोको दाहिनेतर्फको टायर र त्यसको माथिल्लो भागमा क्षति पुगेको छ भने मोटरसाइकलको इन्जिनमा समेत क्षति भएको छ । त्यसैगरी वि.गरको दाहिनेतर्फको बडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्कार्पियो र विंगरका चालक तथा यात्रु भने सकुशल रहेका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक प्रशान्त सिंहको दुवै घुँडा र दाहिने खुट्टाको बूढीऔँलामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । मोटरसाइकलको पछाडि सवार धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर निवासी २२ वर्षीय कृष्ण पञ्जियारको टाउको र दाहिने हातको पञ्जामा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको खाल्टेस्थित सामुदायिक आत्मीय अस्पतालमा उपचार भइरहेको छ ।  प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया