काभ्रेपलाञ्चोक,०१ मंसिर – देशकैे प्रमुख सडक पूर्वाधारका रूपमा रहेको बीपी राजमार्गको धुलिखेल–दाप्चा खण्ड विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ । धुलिखेलदेखि नमोबुद्ध नगरपालिका–दाप्चास्थित १ नम्बर पुलसम्मको २० दशमलव ६ किलोमिटर सडकलाई हालको तुलनामा झण्डै दोब्बर फराकिलो बनाउने तयारी गरिएको हो । यसका लागि तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० रुपैयाँ स्रोत प्रस्ताव गरिएको छ ।
सडक डिभिजन कार्यालय, भक्तपुरका अनुसार हाल उक्त खण्डमा मुख्य कालोपत्रे सडकको चौडाइ सामान्यतया ५ दशमलव ५ मिटर छ । इन्टरमिडियट अर्थात् एक लेनभन्दा केही फराकिलो अवस्थामा रहेको सडकलाई विस्तार गरी मुख्य कालोपत्रे भाग १० मिटर पु¥याउने लक्ष्य राखिएको छ । बढ्दो सवारी चाप, सडक सुरक्षाको आवश्यकता र यातायात आवागमनलाई सहज बनाउने उद्देश्यले विस्तारको योजना अघि सारिएको कार्यालयले जनाएको छ ।
विस्तार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भने अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार डीपीआरमा उल्लेखित लागतका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष स्रोत सुनिश्चितताको प्रस्ताव पठाइएको छ ।
आयोजनाको अनुमानित लागतका आधारमा प्रतिकिलोमिटर सडक विस्तारमा करिब १८ करोड ६ लाख रुपैयाँ खर्च हुने देखिएको छ । स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइने र चालु वर्षभित्रै विस्तारको काम सुरु गर्ने तयारी रहेको योगेशले बताएका छन् । उनका अनुसार आयोजना सम्पन्न गर्न निर्माण सम्झौतामा काम सुरु भएको मितिले तीन वर्षको समयसीमा निर्धारण गरिनेछ ।
यद्यपि, सडक विस्तारको काम अघि बढाउन केही प्राविधिक तथा प्रशासनिक चुनौतीसमेत छन् । धुलिखेलदेखि भकुण्डेबेँसीसम्म सडकको दायाँबायाँ रहेका रुख कटान गर्नुपर्ने अवस्था छ । त्यस्तै, सडकका जोखिमपूर्ण तथा साँघुरा मोड सुधार गर्ने क्रममा केही घरसमेत हटाउनुपर्ने हुन सक्छ । यसका कारण ठेक्का प्रक्रिया सुरु भइसकेपछि पनि निर्माण कार्य प्रारम्भ हुन केही महिना थप लाग्न सक्ने कार्यालयको आकलन छ ।
सडकको दायाँबायाँ १५ मिटरभित्र पर्ने संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले जानकारी दिएका छन् । प्रस्तावित विस्तार खण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाका विभिन्न सडक क्षेत्रमा पर्दछ । यसले ती नगरका बासिन्दा तथा यस मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई प्रत्यक्ष रूपमा लाभ पु¥याउने अपेक्षा गरिएको छ ।
यसैबीच, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्र र सिन्धुलीको नेपालथोक आसपास बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणलाई पनि फराकिलो सडक संरचनासहित अघि बढाइएको छ । पछिल्ला केही वर्षदेखि प्राकृतिक विपत्तिका कारण प्रभावित ती खण्डमा नाला तथा ढलसहित ११ मिटर चौडाइको सडक निर्माण गर्ने योजना छ । त्यसमा मुख्य कालोपत्रे भाग सात मिटर रहने कार्यालयले जनाएको छ ।
धुलिखेलदेखि दाप्चासम्मको सडक विस्तार र प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त खण्डको पुनर्निर्माण एकसाथ अघि बढ्दा बीपी राजमार्गको समग्र यातायात क्षमता, सडक सुरक्षा र दिगोपनमा सुधार आउने अपेक्षा गरिएको छ । तर, प्रस्तावित बजेटको स्रोत सुनिश्चितता, ठेक्का प्रक्रिया र आवश्यक वातावरणीय तथा प्राविधिक व्यवस्थापनले नै आयोजनाको वास्तविक कार्यान्वयन समय निर्धारण गर्नेछ ।