काठमाडौं, १५ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन सातवटा विषयगत उपसमिति गठन गरेको छ । साथै, महानगरपालिका र उपमहानगरपालिकाका वडा तहमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन प्रक्रिया खुला गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयसम्बन्धी कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरेको हो । आचार्य उक्त समितिका संयोजकसमेत हुन् ।
पार्टी प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार गठित उपसमितिहरूलाई उम्मेदवार छनोट प्रक्रियाका फरक–फरक पक्षको जिम्मेवारी प्रदान गरिएको छ । क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामीलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, समावेशिता तथा महिला सहभागिता उपसमितिको नेतृत्व डा. तोसिमा कार्कीले गर्ने भएकी छन् । क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन चाहने इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन आह्वान गर्ने निर्णयसमेत गरेको छ । इच्छुक व्यक्तिहरूले पार्टीको क्यान्डिडेट क्लबमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
सातवटा उपसमितिको गठन र वडा तहका उम्मेदवारका लागि आवेदन खुलाउने निर्णयले रास्वपाले आगामी स्थानीय निर्वाचनको तयारीलाई सांगठनिक रूपमा अघि बढाउन खोजेको देखिन्छ । उम्मेदवारको क्षमता, समावेशिता, प्रविधि, व्यवस्थापन र प्रचारप्रसारलाई छुट्टाछुट्टै जिम्मेवारीमा राख्दै पार्टीले छनोट प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास गरेको छ ।