आइतवार, कार्तिक १५ गते २०८३

Sunday 1st November 2026

सिन्धुलीमा एकै दिन ८९ जनाको आँखामा फर्कियो उज्यालो !

शनिवार , कार्तिक १४, २०८३

सिन्धुली,१४ कात्तिक – आर्थिक अभाव तथा उपचार सेवाको पहुँचबाट टाढा रहेका आँखाका बिरामीलाई लक्षित गरी सिन्धुलीमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरको पहिलो दिन शनिवार ८९ जनाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा सञ्चालित दुईदिने शिविरअन्तर्गत उक्त सेवा प्रदान गरिएको हो ।

सिंगापुर निवासी ङा अलिक टी र झाङ वेन परिवारकोको आर्थिक सहयोगमा आयोजित शिविरमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका मोतिबिन्दुबाट प्रभावित बिरामीहरूले निःशुल्क शल्यक्रिया सेवा प्राप्त गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तथा सहज रूपमा आँखा उपचारको सुविधा लिन नसकेका नागरिकका लागि शिविर प्रभावकारी माध्यम बनेको आयोजकले जनाएको छ ।

शल्यक्रिया सेवा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अनु मानन्धरको नेतृत्वमा आएको प्राविधिक टोलीले प्रदान गरेको थियो । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य प्राविधिकको प्रत्यक्ष संलग्नतामा बिरामीहरूको आवश्यक परीक्षणपछि शल्यक्रिया गरिएको हो । राजधानीमा उपलब्ध विशेषज्ञस्तरको आँखा उपचार सेवा जिल्लामै निःशुल्क उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

शिविरमा शल्यक्रिया गराएका बिरामीहरूको स्वास्थ्य तथा सुविधालाई ध्यानमा राख्दै सत्य साई संगठन सिन्धुलीले पनि सहयोग गरेको थियो । संगठनकी अध्यक्ष उर्मिला कर्मचार्यसहितको टोलीले शल्यक्रियापछि बिरामीहरूलाई दूध तथा बिस्कुट वितरण गरेको थियो । उपचार प्रक्रियामा सहभागी बिरामीलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त मानवीय सेवा प्रदान गरिएको हो ।

त्यसैगरी, आँखा परीक्षण तथा उपचारका लागि शिविरमा आएका बिरामीहरूको व्यवस्थापन, सहजीकरण र सेवाप्रवाहलाई व्यवस्थित बनाउन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूले स्वयंसेवकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठको सक्रिय पहल र नेतृत्वमा सञ्चालन हुँदै आएको यस्तो अभियानले जिल्लाका उपचार सेवाबाट वञ्चित नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउँदै आएको छ । श्रेष्ठले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर मोतिबिन्दुका बिरामी पहिचान तथा छनोट गर्ने र उनीहरूलाई सिन्धुली सदरमुकामसम्म ल्याई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउँदै आउनुभएको छ ।

ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले दृष्टिसम्बन्धी समस्याका कारण दैनिक जीवन प्रभावित भएका व्यक्तिहरूलाई पुनः सहज जीवनयापनको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । स्थानीय तहसम्म पुगेर बिरामी पहिचान गर्ने, विशेषज्ञ सेवा जिल्लामै उपलब्ध गराउने र विभिन्न सामाजिक संस्थाबीच सहकार्य स्थापित गर्ने अभ्यासले सिन्धुलीमा सामुदायिक स्वास्थ्य सेवाको पहुँच विस्तारमा समेत योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया