सुर्खेत,२४ असोज – वीरेन्द्रनगरमा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने मृतककी पत्नी र मोटरसाइकल चालक घाइते भएका छन् ।
गएराति वीरेन्द्रनगरको घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदल हिँडिरहेका दम्पतीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा बस्दै आएका २७ वर्षीय विवेक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता कविन्द्रसिंह बोहोराका अनुसार मोटरसाइकलको ठक्करबाट थापाको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनालगत्तै उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पु¥याइएको थियो ।
अवस्था गम्भीर भएपछि थप उपचारका लागि राति नै नेपालगन्ज पठाइएका थापाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा थापाकी २९ वर्षीया पत्नी सुनिता थापा पनि घाइते भएकी छन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । त्यस्तै, मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१० का २२ वर्षीय दिपेश चौधरीसमेत घाइते भएका छन् ।
प्रहरी प्रवक्ता बोहोराले दुर्घटनामा परेका तीनै जनालाई तत्काल कर्णाली प्रदेश अस्पताल पु¥याइएको जानकारी दिए ।
“मृत्यु भएका विवेकसहित सबैलाई घाइते अवस्थामा तत्काल कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो,” बोहोराले भने, “थापालाई थप उपचारार्थ राति नै नेपालगन्ज रिफर गरिएको थियो । तर बाटोमै मृत्यु भयो ।”
प्रहरीका अनुसार मृतक थापाको शव हाल अस्पतालको शवगृहमा राखिएको छ । घाइते सुनिता र मोटरसाइकल चालक चौधरीलाई पनि थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको छ ।