आइतवार, आश्विन २५ गते २०८३

Sunday 11th October 2026

सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

सोमवार , आश्विन १९, २०८३

बागलुङ,१९ असोज – बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको काम भइरहेका बेला माथिबाट माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक मजदुर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँतर्फ जाने भित्री सडकखण्डमा दुर्घटना भएको हो । लु १ क ३४४६ नम्बरको जेसीबी प्रयोग गरी सडक खन्ने तथा स्तरोन्नति गर्ने काम भइरहेका बेला अचानक माथिल्लो भागबाट माटोको ढिस्को खसेपछि काममा खटिएका मजदुरहरू पुरिएका थिए ।

घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला पारिएको थियो ।

सोही घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।

प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान तथा विवरण संकलनको काम अघि बढाएको छ। घटनासम्बन्धी थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया