शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा लागूऔषधसहित दुई जना नियन्त्रणमा

बुधवार , माघ १४, २०८२

सिन्धुली,१४ माघ — सिन्धुलीको दुधौली नगरपालिका–११ राजाबास क्षेत्रमा नियमित गस्तीमा खटिएको प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलवार राति करिब १०ः३० बजेको समयमा इप्रका डकाहाबाट खटिएको गस्ती टोलीले भित्री सडक खण्डमा पैदल हिँडिरहेका केही व्यक्तिहरूलाई देखेपछि शंका लागेर जाँच गरेको थियो ।

प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका ती व्यक्तिहरूलाई रोक्दै चेकजाँच गर्दा उनीहरूको साथबाट ‘निट्जासेन–१०’ लेखिएको लागूऔषधका ३८९ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि देखिएपछि तत्काल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय डकाहामा ल्याइएको थियो ।

नियन्त्रणमा पर्नेहरू दुवै दुधौली नगरपालिका–११ राजाबासकै स्थायी बासिन्दा रहेको खुलेको छ । पक्राउ पर्नेमा २२ वर्षका बालकुमार मगर र २२ वर्षकै टेकेन्द्र मगर रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा लागूऔषध सेवन तथा ओसारपसारसँग सम्बन्धित गतिविधिमा उनीहरूको संलग्नता रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय डकाहाका अनुसार बरामद गरिएको लागूऔषध के प्रयोजनका लागि ल्याइएको थियो, कहाँबाट आएको हो र कसका लागि पु¥याउन खोजिएको थियो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लागूऔषध सम्बन्धी कसुर अन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय सिन्धुलीका भित्री सडक र ग्रामीण क्षेत्रहरूमा लागूऔषध कारोबार बढ्दै गएको गुनासो आइरहेका बेला प्रहरीले गस्तीलाई तीव्र बनाएको जनाएको छ । विशेष गरी युवा पुस्ता लागूऔषधको दुष्चक्रमा फस्दै गएको भन्दै प्रहरी प्रशासनले समुदायसँग सहकार्य गर्दै नियन्त्रण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्थानीयवासीहरूले पनि प्रहरीको सक्रियतालाई सकारात्मक रूपमा लिँदै लागूऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन माग गरेका छन् । लागूऔषधका कारण सामाजिक संरचनामा नकारात्मक असर पर्न थालेको भन्दै अभिभावक, विद्यालय र स्थानीय निकाय सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रहरीले लागूऔषधसम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षाकर्मीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया