सिन्धुली,१३ माघ — व्यक्तिगत पीडा र स्मृतिलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै शिक्षाको क्षेत्रमा दीर्घकालीन योगदान दिने उदाहरणीय कार्य कमलामाई नगरपालिकामा भएको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष तथा शिक्षाविद् शेषराज दाहाल र उहाँकी धर्मपत्नी इन्दिरा दाहालले आफ्ना दिवंगत सासु अम्बिका देवकोटा, ससुरा पूर्णप्रसाद देवकोटा र छोरी सम्झना दाहालको स्मृतिमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन ।
कमलामाई नगरपालिका–४ स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय, कुडुलेमा स्थापना गरिएको उक्त अक्षय कोष विद्यालयको शैक्षिक उन्नयन तथा जेहेन्दार, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको बताइएको छ । अक्षय कोषबाट प्राप्त ब्याज रकम विद्यालयको सहमतिअनुसार शिक्षा प्रवद्र्धनका कार्यक्रम, छात्रवृत्ति तथा पुरस्कार वितरणमा प्रयोग गरिनेछ ।
अक्षय कोष स्थापना कार्यक्रम विद्यालय परिसरमै एक सादगीपूर्ण तर भावनात्मक वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै शेषराज दाहालले स्मृतिमा सीमित हुने श्रद्धाञ्जलीभन्दा समाजलाई प्रत्यक्ष लाभ पुग्ने काम नै दिवंगत आत्माप्रति सच्चा सम्मान हुने धारणा व्यक्त गरे । उनले शिक्षा नै समाज परिवर्तनको आधार भएकाले भावी पुस्तालाई सहयोग पुग्ने उद्देश्यले यो निर्णय गरिएको स्पष्ट पारे ।
धर्मपत्नी इन्दिरा दाहालले पारिवारिक दुःखलाई सेवामा रूपान्तरण गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै विद्यालयजस्तो सार्वजनिक शैक्षिक संस्थामार्फत योगदान दिन पाउनु गर्वको विषय भएको बताइन । उनले अक्षय कोषले विद्यार्थीको आत्मविश्वास र अध्ययनप्रतिको लगाव बढाउने विश्वास व्यक्त गरिन ।
विद्यालय व्यवस्थापन समितिले दाहाल दम्पतीको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने उल्लेख गरेको छ । विद्यालय प्रशासनका अनुसार स्थानीय समुदाय र पूर्व विद्यार्थीको सहयोगमार्फत शिक्षा क्षेत्रमा यस्ता दीर्घकालीन कोष स्थापना हुनु सकारात्मक संकेत हो ।
स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूले पनि व्यक्तिगत स्मृतिलाई सार्वजनिक हितसँग जोड्ने यो पहललाई अनुकरणीय भन्दै प्रशंसा गरेका छन्। उनीहरूका अनुसार अक्षय कोषजस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा स्थायित्व ल्याउनुका साथै समाजमा जिम्मेवार नागरिकको भूमिकालाई बलियो बनाउँछ ।
शोकलाई सेवामा, स्मृतिलाई शिक्षामा रूपान्तरण गर्ने दाहाल दम्पतीको यो पहलले केवल एक विद्यालय मात्र होइन, सम्पूर्ण समुदायलाई प्रेरणा दिने विश्वास गरिएको छ ।