सिन्धुली,१२ माघ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिन्धुलीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंग थापा लाई अग्रिम शुभकामना दिँदै औपचारिक रूपमा चुनावी अभियानलाई तीव्र बनाएको छ । जिल्लास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी नेतृत्व, जनसंगठनका प्रतिनिधि, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले सिन्धुली क्षेत्र नम्बर २ मा एमालेको संगठनात्मक अवस्था बलियो रहेको दाबी गर्दै यसपटकको निर्वाचनमा स्पष्ट जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनीहरूले स्थानीय आवश्यकता, जनताको अपेक्षा र राष्ट्रिय राजनीतिक परिवेशलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा चुनावी अभियान अगाडि बढाइने बताएका छन् । कार्यक्रममा पार्टीले विगतमा जिल्लामा गरेका विकास निर्माणका काम, जनमुखी कार्यक्रम र नीतिगत अडानबारे पनि चर्चा गरिएको थियो ।
उम्मेदवार थापाले सम्बोधनका क्रममा वर्तमान मुलुकको अवस्था चुनौतीपूर्ण भए पनि जनतामा परिवर्तन र स्थायित्वको तीव्र चाहना रहेको उल्लेख गरे । “आजको नेपालमा जनताले सामाजिक सद्भाव, न्यायिक समानता, शान्ति र समृद्धि खोजिरहेका छन्,” उनले भने, “यी मूल्य र लक्ष्य एमालेका मूल एजेन्डा हुन्, र यही सन्देश हामीले सिन्धुलीका हरेक घर–घरमा पु¥याउनुपर्नेछ ।” उनले निर्वाचनलाई केवल जित–हारको प्रतिस्पर्धा नभई देशको भविष्यसँग जोडिएको राजनीतिक जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताए ।
थापाले कार्यकर्ता र समर्थकहरूलाई अनुशासित, मर्यादित र जनमुखी ढंगले चुनावी मैदानमा सक्रिय हुन आह्वान गरे । “हामी सबै एकताबद्ध भएर लाग्यौं भने जित निश्चित छ,” उनले भने, “जनताले हामीलाई जिताउँदैछन्, किनकि उनीहरू राष्ट्रलाई आत्मनिर्भर र सुरक्षित देख्न चाहन्छन् ।” उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको संरक्षण एमालेको प्राथमिकता रहेको भन्दै विदेशी हस्तक्षेपविरुद्ध दृढ अडान कायम राखिने स्पष्ट पारे ।
कार्यक्रममा जिल्ला नेतृत्वले आगामी दिनमा घरदैलो अभियान, टोल–टोलमा छलफल, युवासँग संवाद र विकासका मुद्दामा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । स्थानीय तहका समस्या समाधानदेखि राष्ट्रिय नीतिसम्म एमालेले स्पष्ट दृष्टिकोण राखेको दाबी गर्दै पार्टीले मतदाताको विश्वास जित्ने रणनीति अघि सारेको छ ।
समग्रमा, सिन्धुली क्षेत्र नम्बर २ मा एमालेले चुनावी तयारीलाई संगठित र आक्रामक ढंगले अघि बढाएको देखिन्छ । पार्टी नेतृत्व र उम्मेदवारको आत्मविश्वासले आगामी निर्वाचनमा क्षेत्रको राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ ।