शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीबाट उठेको विद्रोह, केन्द्रमा प्रचण्डको संकट

सोमवार , माघ १२, २०८२

सिन्धुली,१२ माघ – नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० माघमा जारी गरेको विज्ञप्तिले पार्टीभित्र गहिरो तरंग ल्याएको छ । हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलबहादुर केसीसहित सात जनालाई पार्टीबाट निष्कासन गरिएको उक्त विज्ञप्तिमा स्वयं प्रचण्डको हस्ताक्षर छ । तर यो निर्णय केवल सांगठनिक कारबाहीमा सीमित रहेन। यसले माओवादी आन्दोलनको नैतिकता, योगदान र नेतृत्वको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ ।

पूर्वमाओवादी पंक्तिमा एउटा असहज प्रश्न घुमिरहेको छ,आन्दोलनका सहयात्री, आफूभन्दा कम योगदान नभएका नेताहरूमाथि हस्ताक्षर गर्दा प्रचण्डका हात कामेनन ? अवसरवादी र चाटुकारहरूको प्रभावमा परेर आन्दोलनका आधारस्तम्भहरूलाई पाखा लगाइएको आरोप कानेखुसीबाट बाहिरिएर सार्वजनिक बहसमा बदलिँदै गएको छ ।

हरिबोल गजुरेल प्रचण्डभन्दा पहिलेदेखि नै तत्कालीन नेकपा (चौम) को स्कुलिङमा आबद्ध नेता हुन् । अर्कोतर्फ, महेश्वर दाहाल जनयुद्धअघि नै कम्युनिष्ट सादगी र अनुशासनको संस्कारमा हुर्किएका पात्र हुन् । उनी सिद्धान्त र निष्ठाका लागि चिनिएका सिन्धुलीका ईश्वरी दाहाल ‘असारे काका’ का कान्छा छोरा हुन् । जनयुद्धकालमा असारे काकाले काठमाडौं उपत्यकादेखि दूरदराजसम्म भूमिगत रहँदै हजारौं घाइते लडाकुहरूको उपचारमा योगदान दिएका थिए । परिवारको अंशसमेत बेचेर पार्टीलाई सहयोग पुर्‍याएको इतिहास माओवादी वृत्तमा अझै स्मरणीय छ ।

महेश्वर दाहाल पत्रकार पृष्ठभूमिका नेता हुन् । उनी तत्कालीन माओवादी मुखपत्र जनादेश साप्ताहिकका पूर्वसम्पादक हुन् । २०६०/६१ तिर प्रचण्ड र बाबुराम भट्टराईबीचको दुई लाइन संघर्षका बेला कानूनी रूपमा बाबुरामको नाममा रहेको जनादेशले प्रचण्डको पक्ष लिएको थियो, जसमा महेश्वरको निर्णायक भूमिका थियो । जेल, यातना र भूमिगत जीवन भोगेका महेश्वरलाई माओवादी आन्दोलनभित्र सादगी र सिद्धान्तनिष्ठ नेताको रूपमा लिइन्छ ।

तर यही निष्ठा नै उनीहरूका लागि अभिशाप बन्यो । सिन्धुली क्षेत्र नम्बर २ मा टिकट सिफारिस हुँदा पनि अन्ततः महेश्वरलाई पन्छाइयो । पार्टी सचिव हरिबोल गजुरेल र पोलिटब्युरो सदस्य महेश्वर दाहाललाई छेउ लगाउँदै प्रचण्डले लेखनाथ दाहाल‘राजन’लाई दोहो¥याएर टिकट दिए । राजन दाहालमाथि सिन्धुली पार्टी कार्यालय निर्माणमा भ्रष्टाचारको आरोप लागे पनि छानबिन भएन, बरु पुनः राजनीतिक लाभ दिलाइयो ।

यस निर्णयविरुद्ध गजुरेल, महेश्वर, बसन्त माझी र पानीराज बम्जन खुलेर विद्रोहमा उत्रिए । बागी उम्मेदवारी फिर्ता लिन नेतृत्वले गरेको आग्रह अस्वीकार गरियो । ८ माघमा प्रचण्ड र माधवकुमार नेपाल ले जारी गरेको ‘विशेष निर्देशन’ समेत उनीहरूले बेवास्ता गरे । त्यसको प्रत्युत्तरमा १० माघमा निष्कासनको विज्ञप्ति आयो ।

निष्कासनअघि नै महेश्वर दाहालले सार्वजनिक गरेको वक्तव्यले विद्रोहको आशय स्पष्ट पारेको थियो । उनले यस कदमलाई पद, कुर्सी वा बार्गेनिङका लागि नभई पथभ्रष्ट नेतृत्वविरुद्धको संघर्ष भनेका थिए । कम्युनिष्ट आन्दोलन मूल्यविहीन र मुद्दाविहीन बन्दै गएको अवस्थामा सिन्धुलीबाट प्रतिरोधको प्रयास सुरु गरिएको उनको भनाइ थियो ।

यस प्रकरणमा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल ले पनि प्रचण्डलाई कडा सन्देश दिएका छन् । ‘अप्ठेरा’ भनिने हरिबोल र महेश्वरजस्ता पात्रहरूले नै प्रचण्डको गौरव निर्माण गरेको स्मरण गराउँदै उनले सजिला र अनुशासित मानिसहरू भर्ना गर्ने प्रवृत्तिले आन्दोलनको जग भत्किँदै गएको चेतावनी दिएका छन् ।

जानकारहरूका अनुसार शान्ति प्रक्रियापछि प्रचण्डले आधारस्तरका, सादगीपूर्ण नेताहरूको कुरा सुन्न छाडे । सत्ता, सुविधा र सान–सौकत केन्द्रित राजनीतिले नै आज उनलाई सिद्धान्तभन्दा टाढा पु¥याएको असन्तुष्टहरूको आरोप छ । परिणामतः पार्टी अवसरवादीहरूको भेडीगोठ बन्दै गएको र विरोध गर्नेहरूलाई निष्कासनमार्फत बाहिरिन बाध्य पारिएको उनीहरूको निष्कर्ष छ ।

हरिबोल–महेश्वर प्रकरण केवल केही नेताको निष्कासन होइन ः यो माओवादी आन्दोलनभित्र सिद्धान्त र सत्ताबीचको टकरावको प्रतीक बनेको छ । प्रश्न अझै उस्तै छ,इतिहासले बनाएका सहयात्रीलाई हटाउँदा नेतृत्वको हात नकाम्ने अवस्था आखिर कसरी आयो ?

प्रतिक्रिया