शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

प्रचण्डलाई घनश्यामको सन्देश : ‘इतिहास सम्झनुहुन्छ भने अब पछि हट्नुस्’

आइतवार , माघ ११, २०८२

काठमाडौँ,११ माघ – नेपाल कम्युनिस्ट आन्दोलनको आन्तरिक बहस फेरि चर्किएको छ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसाल ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै कडा सन्देश दिएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय बनेको छ ।

भुसालले पार्टी अनुशासनको नाममा पछिल्लो समय गरिएको कारबाहीप्रति गम्भीर असहमति जनाएका छन् । विशेषगरी नेता हरिबोल गजुरेल र महेश्वर दाहालमाथि गरिएको व्यवहारलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले ‘अनुशासन उल्लंघन’ को आरोप लगाइएकै आधारमा आन्दोलनका अनुभवी र अप्ठेरा आवाजहरूलाई पाखा लगाउने प्रवृत्तिले पार्टी र आन्दोलन दुवै कमजोर हुँदै गएको तर्क गरेका छन् ।

उनले आइतवार सामाजिक सञ्जालमा लेखेका छन् , “हरिबोल गजुरेल र महेश्वर दाहालहरूले तपाईंको अनुशासन उल्लंघन गरे होलान् । त्यसको बदलामा अनुशासित र सजिला मानिसहरू भर्ती भइरहेका होलान् । तर नबिर्सिनुस्, तपाईंले आफ्नै जीवनमा गौरव गर्ने जुन इतिहास छ, त्यो यिनै अप्ठेरा र असहज आवाजहरूले निर्माण गरिदिएका हुन् ।” भुसालको यो टिप्पणी केवल व्यक्तिमाथिको आलोचना नभई नेतृत्व शैली र राजनीतिक संस्कृतिमाथिको प्रश्नका रूपमा हेरिएको छ ।

भुसालले प्रचण्ड नेतृत्वमा पार्टीले ‘सजिला र आज्ञाकारी’ पात्रहरूलाई प्राथमिकता दिन थालेपछि आन्दोलनका वैचारिक गजुरहरू एक–एक गर्दै भत्किन थालेको दाबी गरेका छन् । उनको भनाइमा, यस प्रक्रियाको प्रत्यक्ष मूल्य सम्पूर्ण कम्युनिस्ट आन्दोलनले चुकाइरहेको छ । जनविश्वास खस्कँदै गएको छ र वैचारिक धार कमजोर बन्दै गएको छ ।

उनले थप लेखेका छन्, “तपाईं र तपाईंहरूजस्ता शक्तिशालीहरूले अप्ठेराहरूको ठाउँमा सजिला मानिसहरू भर्ना गर्न थालेदेखि तपाईंहरूको गौरवका गजुरहरू ढल्न थालेका छन् ।” भुसालका अनुसार यो अवस्था दीर्घकालीन रूपमा पार्टीका लागि मात्र होइन, देशको वामपन्थी राजनीतिका लागि समेत घातक सावित हुन सक्छ ।

सन्देशको अन्त्यमा भुसालले सबैभन्दा कडा सुझाव दिएका छन् । “यदि तपाईंमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन,” उनले लेखेका छन् । यो अभिव्यक्तिलाई प्रचण्ड नेतृत्वप्रति खुला चुनौतीका रूपमा लिइएको छ । भुसालको यो धारणा सार्वजनिक भएपछि नेकपा भित्रको आन्तरिक मतभेद पुनः सतहमा आएको संकेत राजनीतिक विश्लेषकहरूले गरेका छन् ।

प्रतिक्रिया