सिन्धुली,१० माघ— नेपाली कम्युनिष्ठ पार्टी (नेकपा) ले हरिबोल गजुरेल र महेश्वर दाहालमाथि गरेको कारबाहीको निर्णय सार्वजनिक भएसँगै सिन्धुली जिल्लामा नेकपाका नेता तथा कार्यकर्ताबीच तीव्र असन्तुष्टि देखिएको छ । पार्टी केन्द्रको निर्णयप्रति असहमति जनाउँदै सिन्धुलीका नेकपाका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमार्फत खुला प्रतिवाद सुरु गरेका छन् ।
पार्टीको लामो समयदेखिको संगठन निर्माण, जनआन्दोलन तथा स्थानीय राजनीतिमा योगदान दिएका नेतामाथि गरिएको कारबाहीले जिल्लामा मात्र नभई प्रदेशस्तरसम्म तरंग पैदा गरेको छ । सामाजिक सञ्जालमा पोस्ट, टिप्पणी र सार्वजनिक धारणा राख्दै कार्यकर्ताहरूले निर्णयलाई ‘एकपक्षीय’, ‘अन्यायपूर्ण’ र ‘आन्दोलनको इतिहासमाथिको अपमान’का रूपमा व्याख्या गरेका छन् ।
विशेषतः सिन्धुली क्षेत्र नम्बर २ मा माओवादीको जनाधार निर्माणमा सक्रिय भूमिका खेलेका नेतामाथि गरिएको कारबाहीले स्थानीय संगठन कमजोर पार्ने चिन्ता व्यक्त गरिएको छ । पार्टीभित्र लामो समयदेखि योगदान दिएका नेतामाथि छलफलविना कारबाही गर्नुले केन्द्र र स्थानीय तहबीचको दूरी झनै बढ्ने नेताहरूको भनाइ छ ।
यसैबीच, सिन्धुली क्षेत्र नम्बर २ बाट जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार सिफारिस भएका सुमन पुलामीले पनि कारबाही निर्णयप्रति सार्वजनिक असहमति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुलामीले पार्टीभित्र विचार, योगदान र पुस्तागत प्रतिनिधित्वलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, “पार्टी आन्दोलनको जगमा उभिएको संगठन हो । योगदानको कदर र विचारको सम्मान नै माओवादीको पहिचान हो। तर आज निर्णय प्रक्रियाले त्यो पहिचानमाथि प्रश्न उठाएको छ ।” पुलामीको अभिव्यक्तिलाई युवापुस्तामाझ व्यापक समर्थन मिलिरहेको देखिन्छ ।
पुलामी मात्र होइन, जिल्लाका दर्जनौँ माओवादी समर्थक युवाले पनि सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति प्रश्न उठाएका छन् । उनीहरूले स्थानीय स्तरमा सर्वसम्मत रूपमा सिफारिस भएका, जनतासँग नजिक रहेका नेताहरूलाई पन्छाएर केन्द्रबाट निर्णय लादिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कार्यकर्ताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोपसमेत लगाएका छन् । “जनयुद्ध, जनआन्दोलन र संगठन विस्तारमा योगदान गरेका नेताहरूलाई किनारा लगाउँदै जाने हो भने माओवादीको आधार नै कमजोर हुन्छ,” एक स्थानीय कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो विवाद केवल व्यक्तिमाथिको कारबाहीमा सीमित छैन, यो पार्टीभित्रको निर्णय प्रक्रिया, पुस्तान्तरण र स्थानीय नेतृत्वको भूमिकासँग जोडिएको गम्भीर विषय हो । सिन्धुली जस्तो जिल्लामा, जहाँ माओवादीको ऐतिहासिक प्रभाव रहँदै आएको छ, यस्ता निर्णयले आगामी निर्वाचन र संगठनात्मक संरचनामा असर पार्न सक्ने उनीहरूको भनाइ छ ।
हालसम्म पार्टी केन्द्रले कारबाही निर्णयबारे विस्तृत स्पष्टीकरण नदिएको अवस्थामा, सिन्धुलीमा देखिएको असन्तुष्टि थप चर्किने संकेत देखिएको छ । स्थानीय नेता–कार्यकर्ताले निर्णय पुनरावलोकन गर्न र पार्टीभित्र खुला संवाद सुरु गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा बढ्दो प्रतिवादले माओवादी केन्द्रभित्रको आन्तरिक बहसलाई सार्वजनिक बनाएको छ । अब पार्टी नेतृत्वले यस असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ, त्यसले सिन्धुली मात्र होइन, समग्र माओवादी राजनीतिमा नयाँ मोड ल्याउने सम्भावना देखिएको छ ।
