शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हरिहरपुरगढीमा एमाले उम्मेदवार थापाप्रति बढ्दो समर्थन

शनिवार , माघ १०, २०८२

सिन्धुली,१० माघ – सिन्धुली क्षेत्र नम्बर २ का नेकपा (एमाले) तर्फका उम्मेदवार मनोज जंग थापाले शनिबार हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् । स्थानीय बस्ती–बस्ती पुगेका थापालाई मतदाताले उत्साहपूर्वक स्वागत गरेका थिए । अभियानका क्रममा देखिएको जनउपस्थिति, अभिव्यक्त समर्थन र राजनीतिक संवादले यस क्षेत्रको चुनावी माहोल क्रमशः स्पष्ट बन्दै गएको संकेत गरेको छ ।

घरदैलो अभियानमा सहभागी स्थानीयको संख्या उल्लेखनीय देखिन्थ्यो । टोलटोलमा भएको भेटघाटमा नागरिकहरूले आफ्ना समस्या, अपेक्षा र सुझाव खुलेर राखेका थिए । विशेषगरी विकास, रोजगारी, सडक, शिक्षा र स्वास्थ्यजस्ता विषयमा केन्द्रित छलफल भएको स्थानीयले बताए । उम्मेदवार थापाले आफू जनताको सेवकका रूपमा मैदानमा उत्रिएको बताउँदै स्थानीय आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अभियानको अर्को महत्वपूर्ण पक्ष ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागिता थियो । बुढाबुढीहरूले खुलेर उम्मेदवार थापालाई आशीर्वाद दिएका थिए । “देश र समाजको लागि इमानदार राजनीति गर्नेले जित्नुपर्छ,” भन्ने भाव उनीहरूको भनाइमा प्रस्ट देखिन्थ्यो । कतिपयले विगतका राजनीतिक उतारचढाव स्मरण गर्दै स्थायित्व र विकासका लागि सही निर्णय आवश्यक भएको बताएका थिए ।

राजनीतिक रूपमा अझ चासोको विषय के देखियो भने विपक्षी दलका नेता तथा कार्यकर्तामाझ समेत व्यवहारिक सोच हाबी हुन थालेको छ । ‘भोट खेर नफाल्ने, जित्न सक्ने उम्मेदवारलाई नै मत दिने’ धारणा खुलेरै व्यक्त हुन थालेको स्थानीय बताउँछन् । पार्टीगत आस्थाभन्दा पनि परिणाममुखी निर्णयमा केन्द्रित हुने प्रवृत्ति यसपटक बलियो देखिएको उनीहरूको बुझाइ छ ।

यस्तै, विगतमा विद्रोही धारमा देखिएका समूहहरूबीच समेत आपसी प्रतिस्पर्धा भन्दा सहकार्यको भावना देखिन थालेको छ । एक अर्कालाई मत नहान्ने, बरु जित्ने उम्मेदवारलाई समर्थन गर्ने विषयमा चिया पसल, चौतारी र अनौपचारिक भेटघाटमा छलफल चल्ने गरेको स्थानीयको भनाइ छ । यसले राजनीतिक परिपक्वता र मतदाताको चेतनामा आएको परिवर्तनलाई संकेत गर्छ ।

घरदैलो अभियानकै क्रममा उम्मेदवार थापा हरिहरपुरगढी वडा नम्बर ४ का पुराना कम्युनिस्ट नेता जयलाल राईको निवासमा पुगेका थिए । अस्वस्थ रहेका राईसँग भेटघाट गर्दै थापाले शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरे । राजनीतिक आन्दोलनमा राईले पुर्‍याएको योगदानको स्मरण गर्दै सम्मान प्रकट गरिएको थियो । उक्त भेटलाई स्थानीयले सकारात्मक सन्देशका रूपमा लिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार, उम्मेदवार थापाको सरल प्रस्तुति, संवादमुखी व्यवहार र स्थानीय सरोकारप्रति देखाएको चासोले मतदातामाझ भरोसा बढाएको छ । कतिपयले यसपटकको निर्वाचनलाई केवल दलगत प्रतिस्पर्धा नभई विकास र स्थायित्वको निर्णयको रूपमा हेर्न थालेका छन् ।

समग्रमा, हरिहरपुरगढीमा देखिएको जनसमर्थन, ज्येष्ठ नागरिकको आशीर्वाद, विपक्षी धारको व्यवहारिक सोच र राजनीतिक समझदारीले सिन्धुली क्षेत्र नम्बर २ को चुनावलाई नयाँ मोडतर्फ डोर्‍याइरहेको देखिन्छ । घरदैलो अभियानले स्थानीय मतदातासँगको दूरी घटाउँदै राजनीतिक संवादलाई अझ सशक्त बनाएको विश्लेषकहरूको टिप्पणी छ ।

प्रतिक्रिया