सिन्धुली,१० माघ – पार्टीभित्रको विधि, प्रक्रिया र सामूहिक निर्णयको अभ्यासलाई बेवास्ता गर्दै व्यक्तिगत रुचि र भक्तिवादलाई प्राथमिकता दिन थाल्दा राजनीतिक संगठन कति छिटो कमजोर बन्छ भन्ने उदाहरण पछिल्ला घटनाक्रमले देखाउन थालेका छन् । सिन्धुली सुनकोशीका पुर्व माओबादी नेता बिनोद दाहालले सामाजिक सञ्जालमा लेखेको टिप्पणीले पार्टीभित्र बढ्दै गएको निरंकुश प्रवृत्ति र असहमति दमनको विषयलाई पुनः सतहमा ल्याएको छ।
दाहालले पार्टीको आधिकारिक प्रक्रिया विपरीत एउटा ‘भक्त’लाई जसरी पनि टिकट दिलाउने नाममा जिल्ला पार्टी नै विघटन हुनेगरी गरिएको कारबाहीप्रति गम्भीर प्रश्न उठाएका छन् । विधिसम्मत छलफल, बहस र निर्णयको साटो शक्ति प्रयोग गर्दै असहमति राख्ने नेताकार्यकर्तामाथि कारबाही थोपरिनु बुद्धिहीनता र अहंकारको उपज भएको उनको आरोप छ । यस्तो कदमले पार्टीलाई थप कमजोर बनाउँदै लगेको र आन्तरिक एकतालाई गहिरो क्षति पु¥याएको उनले उल्लेख गरेका छन् ।
उनको भनाइमा पार्टीलाई ध्वस्ततर्फ लैजाने, लामो समयदेखि संघर्ष गर्दै आएका कार्यकर्तालाई फुटाएर खेद्ने र संगठनात्मक संरचनामै संकट सिर्जना गर्ने गतिविधि नियोजित रूपमा भइरहेका छन् । भ्रष्टाचारका विषयमा छानविन गर्नुपर्ने, अराजकता रोक्नुपर्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू लिखित रूपमा पटक–पटक पार्टीमा पेस गर्दा पनि त्यसको छलफल र निर्णय गर्नुको साटो प्रस्तावकहरूमाथि नै कारबाही गर्नु निरंकुश चरित्रको परिचायक भएको टिप्पणी गरिएको छ ।
पार्टीभित्र असहमतिको आवाजलाई दबाउने, प्रश्न उठाउनेलाई ‘एक्ले ढेडू’ भन्दै गालीगलौज सहन बाध्य पार्ने वातावरण बनाइनु लोकतान्त्रिक संस्कृतिमाथिको ठाडो प्रहार भएको दाहालको तर्क छ । यस्तो प्रवृत्तिले पार्टीलाई जनताबाट अझ टाढा लैजाने र कार्यकर्ताको मनोबल पूर्ण रूपमा गिराउने खतरा रहेको उनले चेतावनी दिएका छन् ।
राजनीतिक दल जनताको भरोसामा चल्ने संस्था हो। विधि, प्रक्रिया र सामूहिक नेतृत्वको सम्मान नगरी व्यक्तिगत स्वार्थ र अहंकार हाबी हुँदै गए पार्टीभित्र मात्र होइन, सार्वजनिक रूपमा पनि गम्भीर संकट उत्पन्न हुने विश्लेषकहरूको भनाइ छ । अहिले उठेका प्रश्नहरूलाई समयमै सम्बोधन नगर्ने हो भने यसको असर आगामी राजनीतिक यात्रामा गहिरो पर्ने संकेत देखिन थालेको छ ।