सिन्धुली,१० माघ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निष्काशित नेता हरिबोल गजुरेल ले पार्टीभित्र विधि, पद्धति र अनुशासनको सबैभन्दा ठूलो उल्लंघन गर्ने व्यक्ति स्वयं पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’भएको आरोप लगाउँदै पहिला उनैमाथि कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । पार्टीको आधिकारिक निर्णय र स्थानीय सिफारिसलाई बेवास्ता गर्दै उम्मेदवार छनोटमा मनोमानी गरिएको भन्दै गजुरेलले नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक लाइनविपरीत उम्मेदवारी दिएको, प्रस्तावक तथा समर्थक बनेको आरोपमा नेकपाले गजुरेलसहित सात जना नेतामाथि निस्कासनको कारबाही गरेको थियो । पार्टीले शनिबार सार्वजनिक गरेको निर्णयअनुसार पार्टी निर्णय र निर्देशनविरुद्ध उभिने सबैमाथि अनुशासनको कारबाही गरिएको जनाएको छ ।
तर, निर्णय सार्वजनिक भएलगत्तै गजुरेलले प्रतिक्रिया दिँदै सिन्धुली जिल्लाबाट सिफारिस भएका उम्मेदवारलाई बेवास्ता गरी केन्द्रबाट एकलौटी ढंगले उम्मेदवार तोकिनु नै पार्टी विधि र प्रक्रिया विपरीत भएको दाबी गरे । “जो अगुवा, उही के भनेझैँ अवस्था छ,” उनले भने, “जिल्ला पार्टीको निर्णय उल्लंघन गर्ने पहिलो व्यक्ति नै प्रचण्ड हुनुहुन्छ। त्यसैले कारबाहीको पहिलो दायरामा पनि उहाँ नै पर्नुपर्छ ।”
गजुरेलले नेतृत्वले आफैँ विधि मिचेर अरूलाई कारबाही गर्नु हास्यास्पद र अन्यायपूर्ण भएको तर्क गरे । पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको र निर्णय प्रक्रिया केही व्यक्तिको हातमा सीमित हुँदै गएको आरोप पनि उनले लगाए । “आन्तरिक लोकतन्त्र र अनुशासनको कुरा गर्ने नेतृत्व स्वयं त्यसको सम्मान गर्न असफल भइरहेको छ,” उनको भनाइ छ ।
उनले पार्टीमा फरक मत राख्नेहरूलाई अनुशासनको नाममा दबाब दिन खोजिएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले संगठनलाई झनै कमजोर बनाउने चेतावनी दिए । नेतृत्वले आत्मसमिक्षा नगरेसम्म पार्टीभित्रको विवाद र असन्तुष्टि अझ गहिरिने उनको तर्क छ ।
उल्लेखनीय छ, बागी उम्मेदवार महेश्वर दाहाललाई समर्थन गरेको आरोपमा गजुरेल कारबाहीमा परेका हुन् । पार्टीका अनुसार आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक वा प्रचारक बन्ने सबैमाथि संगठनात्मक अनुशासनको कारबाही लागू गरिएको हो । तर, गजुरेलको भनाइमा, विधि मिच्ने नेतृत्वलाई उन्मुक्ति दिँदै फरक मत राख्नेहरूलाई दण्डित गर्नु न्यायोचित हुन सक्दैन ।