शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हरिबोल–महेहरिबोल–महेश्वरसहित सात नेता पार्टीबाट निष्कासित

शनिवार , माघ १०, २०८२

सिन्धुली – आगामी फागुन २१ गते हुने आम निर्वाचनको संघारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अनुशासन उल्लंघन गरेको ठहर गर्दै सात जना नेतामाथि कडा कारबाही गरेको छ । पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दर्ता गरेको तथा त्यसलाई समर्थन र प्रचारमा संलग्न भएको आरोपमा उनीहरूलाई पार्टी सदस्यताबाट निष्कासन गरिएको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिअनुसार आधिकारिक उम्मेदवार तोकिएको निर्वाचन क्षेत्रमा पार्टी निर्देशनलाई बेवास्ता गर्दै उम्मेदवार बनेका, प्रस्तावक–समर्थक बनेका तथा प्रचारप्रसारमा संलग्न व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कारबाही गरिएको जनाइएको छ । सो कारबाहीअन्तर्गत पार्टीबाट निष्कासित हुनेहरूमा हरिबोल गजुरेल, महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ मा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएका थिए । सो बागी उम्मेदवारीलाई हरिबोल गजुरेलले खुला समर्थन जनाएका थिए । निर्वाचनअघि उत्पन्न असन्तुष्टि समाधान गर्न पार्टी नेतृत्वबाट पटक–पटक सहमतिमा आउन आग्रह गरिए पनि उनीहरूले पार्टी निर्णय नमान्दा अन्ततः निष्कासनको बाटो रोजिएको हो ।

यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर–१ मा कुलप्रसाद केसीले नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध बागी उम्मेदवारी दिएका थिए। पार्टीको आधिकारिक निर्णयलाई चुनौती दिने गतिविधि बढ्दै गएपछि संगठनात्मक अनुशासन कायम गर्न कठोर कदम चाल्नुपरेको पार्टीको भनाइ छ ।

नेकपाले विज्ञप्तिमार्फत पार्टी नीति, विधान र सामूहिक निर्णयको अवज्ञा गर्ने गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ । पार्टी अनुशासन, संगठनात्मक एकता र निर्वाचनमा साझा रणनीति आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया