शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

धुराबजार आगजनी हत्या : उपचारपछि अदालत, आरोपी थुनामा

शनिवार , माघ १०, २०८२

सिन्धुली,१० माघ – सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराबजारमा गत मंसिर ६ गते घटेको जघन्य हत्या प्रकरणले जिल्लाभर गहिरो शोक र आक्रोश पैदा गरेको छ । गत पुस २९ गते दिउँसो करिब साढे चार बजेतिर भएको उक्त घटनामा ३२ वर्षीया सुशिला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार पेट्रोल प्रयोग गरी आगो लगाइएका कारण उनको ज्यान गएको हो । घटनापछि स्थानीय तहदेखि जिल्ला प्रशासनसम्म तीव्र चासो र दबाब उत्पन्न भएको थियो ।

घटनामा संलग्न रहेको अभियोग लागेका दुर्गा मान बोम्जन उपचारका क्रममा अस्पतालमा भर्ना थिए । जिल्ला सिन्धुली हरिहरपुरगढी स्थायी वतन भई हाल कमलामाई नगरपालिका–४ मै बसोबास गर्दै आएका ६५ वर्षीय बोम्जनको उपचारपछि मंसिर ८ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उपचार अवधिभर प्रहरी निगरानीमा रहेका उनलाई आवश्यक प्रक्रिया पूरा गरी शुक्रबार सम्मानित सिन्धुली जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

अदालतमा उपस्थित गराइएपछि न्यायिक प्रक्रियाअनुसार थुनछेक बहस सम्पन्न भएको थियो । बहसपश्चात् अदालतले घटनाको गम्भीरता, अभियोगको प्रकृति तथा प्रारम्भिक प्रमाणहरूको आधारमा आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सोही आदेशअनुसार दुर्गा मान बोम्जनलाई कारागार कार्यालय सिन्धुलीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि पीडित परिवारले निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै आएका छन्। स्थानीय बासिन्दाहरूले समेत यस्तो जघन्य अपराधले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गरेको भन्दै दोषीमाथि कानुनअनुसार कडा सजाय हुनुपर्ने माग गरेका छन्। महिला अधिकारकर्मीहरूले यो घटना घरेलु तथा लैंगिक हिंसाको चरम रूप भएको टिप्पणी गर्दै राज्य संयन्त्र थप संवेदनशील र सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ । आवश्यक प्रमाण संकलन, साक्षी बयान र प्राविधिक विश्लेषणको काम तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ । अदालतको आदेशअनुसार अब मुद्दा नियमित सुनुवाइको प्रक्रियामा जानेछ । स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न तथा अफवाह फैलिन नदिन सतर्कता बढाएको छ ।

प्रतिक्रिया