शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीबाट उठ्यो विद्रोहको आवाज

शुक्रवार , माघ ९, २०८२

सिन्धुली ,०९ माघ –– नेकपाभित्रको आन्तरिक विवाद सिन्धुलीबाट खुलेआम विद्रोहमा परिणत भएको छ । सिन्धुली क्षेत्र नम्बर २ मा लेखनाथ दाहाल (राजन) को उम्मेदवारीविरुद्ध महेश्वर दाहाललाई बागी उम्मेदवार बनाएका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वको प्रस्ताव अस्वीकार गर्दै आफूले विद्रोहको झण्डा उठाइसकेको स्पष्ट पारेका छन् ।

बिहिवार साँझ करिब दुई घण्टासम्म पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग भएको छलफल निष्कर्षविहीन भएपछि गजुरेलले यो धारणा सार्वजनिक गरेका हुन् । छलफलको मुख्य एजेन्डा महेश्वर दाहालको बागी उम्मेदवारी फिर्ता गराउने विषय थियो । तर, गजुरेल त्यसमा सहमत भएनन् ।

सिन्धुली–२ मा महेश्वर दाहालको उम्मेदवारी दर्ताका क्रममा प्रस्तावक बसेका गजुरेललाई पार्टी नेतृत्वले काठमाडौं बोलाएर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेको थियो । तर, गजुरेलले बरु राजन दाहालको उम्मेदवारी फिर्ता गर्न सुझाव दिएको बताएका छन् ।

“हामी गतिशील नेतृत्वबाट न्यायपूर्ण निर्णय हुने अपेक्षा राखेर काठमाडौं आएका थियौँ,” गजुरेलले भने, “तर उहाँहरूले उल्टै महेश्वर दाहालको उम्मेदवारी फिर्ता लिन दबाब दिनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौँ ।”

उनका अनुसार छलफलका क्रममा आफूलाई कारबाहीको चेतावनी समेत दिइएको थियो । “पार्टीलाई तपाईं चाहिन्छ, तर उम्मेदवारी फिर्ता लिनुपर्छ, नत्र कारबाही हुन्छ भन्ने कुरा आयो,” गजुरेलले भने, “यदि हरिबोल गजुरेलको भूमिका सकिएको हो भने म नै फिर्ता गराइदिन्छु भनेँ, तर अन्याय स्वीकार गर्दिनँ ।”

गजुरेलले पार्टीभित्र स्वेच्छाचारिता, निरंकुशता र परिवारवाद मौलाएको आरोप लगाएका छन् । यही प्रवृत्तिविरुद्ध आफूले विद्रोहको झण्डा उठाएको उनको दाबी छ । “यो व्यक्तिगत आकांक्षाको विषय होइन,” उनले भने, “पार्टीभित्र दबिएका, उत्पीडित र अवसरबाट वञ्चित भएका नेता–कार्यकर्ताको आवाज हो यो विद्रोह ।”

उनले सिन्धुलीलाई पूर्वको राजनीतिक केन्द्रको संज्ञा दिँदै त्यहीँबाट विद्रोह सुरु हुनु अर्थपूर्ण रहेको बताए । “मैले पूर्वको केन्द्र मानिने सिन्धुलीबाट विद्रोहको झण्डा उठाएँ,” गजुरेलले भने, “अब अरु जिल्लाबाट पनि असन्तुष्ट नेताहरू अघि आउनेछन् ।”

पार्टी नेतृत्वले उम्मेदवार सिफारिस समितिको निर्णय लत्याएको आरोप पनि गजुरेलले लगाए । उनका अनुसार क्षेत्र नम्बर १ का लागि राजन दाहाल र क्षेत्र नम्बर २ का लागि हरिबोल गजुरेललाई पहिलो प्राथमिकतामा राखेर सिफारिस गरिएको थियो । तर, नेतृत्वले सिफारिस विपरीत निर्णय गरेको उनको भनाइ छ ।

“क्षेत्र नम्बर २ मा मेरो नाम पहिलो नम्बरमा थियो,” उनले भने, “लेखनाथ दाहाल ‘राजन’को नाम चौथो नम्बरमा थियो । तर, नेतृत्वले सबै सिफारिसलाई पन्छाएर निर्णय ग¥यो ।”

यस निर्णयविरुद्ध जिल्ला कमिटीले एकमतले पुनर्विचारको माग गर्दै नेतृत्वलाई पत्राचार गरेको गजुरेलले बताए । “सिन्धुलीमा राजन दाहाल बाहेक चुनाव जित्ने नेता छैनन् भन्ने गलत भाष्य बनाइयो,” उनले भने, “तर यहाँ क्षमतावान र लोकप्रिय धेरै नेताहरू छन् ।”

उनले साहसका साथ निर्णय लिने नेताहरू सफल हुने उदाहरण दिँदै आफू पनि त्यसै बाटोमा अघि बढ्ने बताएका छन् । “आँट गरेपछि सफलता सम्भव हुन्छ,” उनले भने, “मैले नेतृत्वलाई प्रष्ट भनेको छु, अब हरिबोल गजुरेल लड्छ र सफल हुन्छ ।”

सिन्धुलीबाट सुरु भएको यो असन्तुष्टि र विद्रोहले नेकपाभित्रको शक्ति सन्तुलन र आगामी चुनावी समीकरणलाई गम्भीर असर पार्ने संकेत देखिएको छ । पार्टी नेतृत्वको निर्णयप्रति बढ्दो असन्तोष अब संगठनभित्र मात्र सीमित नरही सार्वजनिक राजनीतिक बहसको विषय बन्दै गएको छ ।

प्रतिक्रिया