शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

घ्याङलेख बैंक लुटपाट प्रकरण

बिहिवार , माघ ८, २०८२

सिन्धुली ,०८ माघ – जिल्ला सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एस.बि.आई. बैंक शाखामा भएको चोरी–लुटपाट घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्भुलीले जनाएको छ । प्रहरीका अनुसार २०८२ साल पौष २९ गते साँझ करिब ७ बजेर ३० मिनेटको समयमा उक्त बैंक शाखामा चोरी–लुटपाट भएको थियो । घटनापछि संलग्नहरूको खोजी तीव्र पारिएकोमा फरार रहँदै आएका प्रतिवादी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने व्यक्ति जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका–२ निवासी ५३ वर्षीय ज्ञानबहादुर भ्लोन तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई २०८२ साल माघ ६ गते दिउँसो ३ बजेको समयमा काठमाडौँ जिल्लाको किर्तिपुर नगरपालिका–७ लप्सीबोट क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीको विशेष निगरानी र सूचनाको आधारमा लुकीछिपी बस्दै आएका तामाङलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार बैंक लुटपाटपछि तामाङ फरार रहेका थिए । यसअघि नै सोही घटनामा संलग्न अन्य प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइसकिएको थियो । पछिल्लो पटक पक्राउ परेका तामाङलाई पनि अन्य प्रतिवादीहरूकै नाममा म्याद मिलान गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ । घटनाको प्रकृति गम्भीर भएकाले विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीय बासिन्दामा असुरक्षाको भावना बढेको थियो। विशेषगरी ग्रामीण क्षेत्रमा रहेको बैंक शाखामा भएको चोरी–लुटपाटले वित्तीय सुरक्षाप्रति प्रश्न उठाएको स्थानीयको भनाइ छ । यस प्रकरणमा संलग्न व्यक्तिहरू क्रमशः पक्राउ पर्न थालेपछि भने स्थानीयले राहत महसुस गरेका छन् ।

 

प्रतिक्रिया