सिन्धुली,०८ माघ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोज जंग थापा ले बिहीवारदेखि आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन् । अभियानको प्रारम्भ उनले मरिण गाउँपालिकाबाट गर्दै घरदैलो, भेटघाट र संवादलाई केन्द्रमा राखेका छन् । स्थानीय तहबाटै मतदाताको आवाज सुन्ने र समाधानका प्रतिबद्धता प्रस्तुत गर्ने रणनीतिसहित थापा मैदानमा उत्रिएका हुन् ।
मरिणका विभिन्न वडामा आयोजित भेलाहरूमा उनले विकास, सुशासन र रोजगारीलाई प्रमुख एजेन्डा बनाएका छन् । “विकासका योजनाहरू कागजमा मात्र सीमित नभई गाउँ–टोलसम्म पुग्नुपर्छ,” भन्दै थापाले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुदृढीकरणमा प्राथमिकता दिने बताए । उनले स्थानीय उत्पादन र कृषि मूल्य शृंखला विस्तारमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरे ।
अभियानको पहिलो दिन थापाले स्थानीय अगुवा, महिला समूह, किसान र युवासँग प्रत्यक्ष संवाद गरे । उनीहरूले उठाएका समस्याहरु सिँचाइ अभाव, बजार पहुँच, शिक्षा गुणस्तर र स्वास्थ्य सेवाको उपलब्धताप्रति थापाले स्पष्ट रोडम्यापसहित जवाफ दिए । “सरोकारवालासँग सहकार्य गरेर योजनाको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छु,” उनले भने ।
एमालेको संगठनात्मक संरचना र कार्यकर्ताको सक्रियताले अभियानलाई थप ऊर्जा दिएको छ । पार्टीका स्थानीय नेताहरूले मरिणबाट सुरु भएको अभियानलाई क्षेत्रभरि विस्तार गर्दै घर–घरमा पार्टीका नीति र उम्मेदवारका प्रतिबद्धता पु¥याउने तयारी भइरहेको जानकारी दिए । उनीहरूका अनुसार संगठन सुदृढीकरणसँगै मतदातासँग निरन्तर संवाद नै जितको आधार हो ।
थापाले समावेशी विकासलाई आफ्नो अभियानको मेरुदण्ड बनाएका छन् । जनजाति, महिला, दलित र सीमान्तकृत समुदायको सहभागिताबिनाको विकास सम्भव नरहेको उल्लेख गर्दै उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय आवाज समेटिने प्रतिबद्धता जनाए । साथै, विपद् व्यवस्थापन, वातावरण संरक्षण र दिगो पर्यटन प्रवद्र्धनमा पनि जोड दिने बताए ।
स्थानीय मतदाताले थापाको सक्रियता र स्पष्ट एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । अभियानले गति लिँदै जाँदा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ । मरिणबाट सुरु भएको यो दौडले आगामी दिनमा सिन्धुलीका अन्य स्थानीय तहमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढ्दै गएको छ ।