शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेकपा सिन्धुलीमा बागी विस्फोट, चुनावी माहोल तात्यो

बिहिवार , माघ ८, २०८२

सिन्धुली,०८ माघ – प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले सिन्धुलीको राजनीतिक वातावरण असामान्य रूपमा तातेको छ । पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै सिन्धुली–२ मा बागी उम्मेदवारी दर्ता भएपछि स्थानीय राजनीति मात्र होइन, पार्टीको संगठनात्मक संरचना र निर्णय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठ्न थालेका छन् ।

लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका पूर्वमन्त्री हरिबोल गजुरेल यस पटक पार्टीको आधिकारिक निर्णयसँग असहमत देखिएका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका महेश्वर दाहालको प्रस्तावक बनेर उम्मेदवारी दर्ता गराएपछि नेकपा सिन्धुली झन् दुई धारमा विभाजित भएको छ । दाहालको समर्थकका रूपमा जिल्ला संयोजक पानीराज बम्जन रहेका छन् ।

विवादको मुख्य जड उम्मेदवारको क्षेत्र अदलबदलसँग जोडिएको छ । क्षेत्र नम्बर १ बाट सिफारिस भएका लेखनाथ दाहाल ‘राजन’लाई पार्टी केन्द्रले क्षेत्र नम्बर २ बाट टिकट दिएको निर्णयलाई गजुरेल समूहले ‘विधिविपरीत’ भन्दै आपत्ति जनाएको छ । गजुरेलका अनुसार यो विषय व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टीभित्र विधि र न्यायको सवालसँग जोडिएको छ ।

“यो कुनै व्यक्ति विशेषको चाहना होइन, यो अस्तित्वको लडाइँ हो,” गजुरेल भन्छन्, “अगाडि चट्टान छ, पछाडि पहिरो । या त चट्टान फोडेर अघि बढ्नुप¥यो, या त पहिरो पन्छाएर । केन्द्रले विधि मिचेपछि हामी बाध्य भएर यो बाटो रोज्यौ ।” उनको यो अभिव्यक्तिले पार्टीभित्रको असन्तुष्टि कति गहिरो छ भन्ने स्पष्ट संकेत गर्छ ।

गजुरेल मात्र होइन, नेकपाका जिल्ला इन्चार्ज बसन्त माझी पनि केन्द्रको निर्णयप्रति खुलेर असन्तुष्ट देखिएका छन् । उनका अनुसार समस्या व्यक्ति विशेषसँग होइन, निर्णय प्रक्रियासँग जोडिएको हो ।

“हामीलाई व्यक्ति परिवर्तन चाहिएको होइन, विधिको सम्मान चाहिएको हो,” माझी भन्छन्, “यदि पार्टीले विधिसम्मत निकास निकाल्छ भने हामीलाई कुनै गुनासो हुँदैन । हाम्रो माग सर्वोच्च निकायबाट न्याय हो ।”

उनको भनाइले पार्टीभित्र असन्तुष्ट पक्ष अझै पनि संवाद र समाधानको ढोका खुला राख्न चाहन्छ भन्ने संकेत गर्छ ।

बागी उम्मेदवारी दर्ता गराएका महेश्वर दाहाल भने आफूलाई ‘विद्रोही’ भनेर चित्रण गरिनु अन्यायपूर्ण भएको दाबी गर्छन् । उनका अनुसार उनले पार्टीकै संरचना र जिल्ला कार्यदलको सिफारिसअनुसार उम्मेदवारी दिएका हुन् । “लोकतन्त्र स्वतन्त्रताका लागि हो,” दाहाल भन्छन्, “म निष्ठा, आदर्श र मूल्यका लागि जेलसमेत गएको मान्छे हुँ । तर केन्द्रले निर्णय गर्दा निरंकुशता देखायो ।”

उनको तर्क छ,“यदि जिल्ला कार्यदलको सिफारिसलाई नै विद्रोह मानिन्छ भने पार्टीभित्र आन्तरिक लोकतन्त्रको अर्थ के रहन्छ ?’

उता, नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ भने केन्द्रले जिल्लाको सिफारिसअनुसार नै टिकट दिएको जिकिर गर्छन् । विगतका निर्वाचनमा आफूलाई एकल सिफारिस हुँदाहुँदै टिकट नपाएको स्मरण गराउँदै उनले यसपटकको बागी उम्मेदवारीलाई व्यक्तिगत असन्तुष्टिको परिणाम भनेका छन् ।

“२०७० र २०७४ मा हरिबोल गजुरेलले टिकट पाउँदा मैले पार्टी निर्णय मानेर सहयोग गरें,” राजन भन्छन्, “आफू हुँदा ठीक, आफू नहुँदा बेठीक भन्ने त भएन नि ।”

उनका अनुसार २०७९ मा टिकट पाउँदा पनि गजुरेलको सहयोग नपाएको र यस पटक पनि सुरुमै बागी उठाइनुले पार्टी अनुशासन कमजोर बनाएको छ ।

सिन्धुली–२ मा देखिएको यो बागी उम्मेदवारी केवल एक निर्वाचन क्षेत्रको विवादमा सीमित छैन । यसले नेकपाभित्र विधि, अनुशासन र आन्तरिक लोकतन्त्रको अभ्यास कस्तो छ भन्ने गम्भीर प्रश्न उठाएको छ । पार्टी केन्द्र र जिल्ला नेतृत्वबीच समन्वय नहुँदा संगठनात्मक संरचनामा देखिएको दरार अब सार्वजनिक बहसको विषय बनेको छ ।

निर्वाचन नजिकिँदै जाँदा बागी उम्मेदवारी फिर्ता हुन्छ कि प्रतिस्पर्धा झन् चर्किन्छ भन्ने प्रश्न अझै खुला छ । तर यति भने स्पष्ट छ,सिन्धुलीको चुनावी मैदानमा यसपटक मतदाताले उम्मेदवार मात्र होइन, पार्टीभित्रको विधि र मूल्यको पनि परीक्षा लिनेछन् ।

प्रतिक्रिया