शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई–५ बालमैत्री वडा घोषणातर्फ अघि बढ्दै

बुधवार , माघ ७, २०८२

सिन्धुली,०७ माघ — कमलामाई नगरपालिकाको वडा नं. ५ लाई वि.सं. २०८४ भित्र बालमैत्री वडा घोषणा गर्ने स्पष्ट लक्ष्यसहित सरोकारवाला निकायबीच व्यापक छलफल सम्पन्न भएको छ । बाल अधिकारको संरक्षण, प्रवद्र्धन र बालमैत्री वातावरण निर्माणलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले आयोजित छलफलले स्थानीय तहमा बालमैत्री अभियानलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

हेन्डस् नेपाल सिन्धुलीको आयोजना तथा वडा नं. ५ को समन्वयमा बुधवार सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष तथा वडा स्तरीय बाल अधिकार समिति अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षता रहेको थियो । छलफलमा वडा सदस्यहरू, कमलामाई नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख, नगरपालिकाका सूचना प्रविधि अधिकृत, विद्यालय प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, बाल सञ्जाल, नेपाल प्रहरी, समाजसेवी, पत्रकार तथा सम्बन्धित शाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वडा सचिव तथा वडा कार्यालयका कर्मचारीहरू पनि छलफलमा सहभागी भएका थिए ।

कार्यक्रममा बाल अधिकार ऐन तथा राष्ट्रिय बालमैत्री स्थानीय शासनका मापदण्डअनुसार वडालाई बालमैत्री बनाउने विषयमा गहन छलफल भएको थियो। बालमैत्री वडा घोषणा गर्न आवश्यक सूचकहरू, वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका थिए । विशेषगरी बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, सहभागिता र सुरक्षा सुनिश्चित गर्न स्थानीय तहले खेल्नुपर्ने भूमिकामा जोड दिइएको थियो ।

छलफलमा सहभागीहरूले बालमैत्री मापदण्ड पूरा गर्न आवश्यक कार्ययोजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बालमैत्री पूर्वाधार विकास, विद्यालय र स्वास्थ्य संस्थासँग समन्वय, बालबालिकामैत्री सेवा प्रवाह, तथा बाल सहभागितामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने सहमति बनेको छ। साथै, बाल अधिकार उल्लंघनका घटनाको रोकथाम र तत्काल प्रतिकार्यका लागि वडा स्तरीय संयन्त्रलाई प्रभावकारी बनाउने विषय पनि उठाइएको थियो ।

वडा अध्यक्ष खड्काले स्थानीय सरकार, समुदाय, विद्यालय र अभिभावकबीचको सहकार्यबाट मात्र बालमैत्री वडा घोषणा सम्भव हुने बताउँदै सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे । उनले २०८४ भित्र वडा नं. ५ लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य प्राप्तिका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता दोहो¥याए ।

छलफलको निष्कर्षअनुसार आगामी दिनमा विस्तृत कार्ययोजना निर्माण गरी नियमित अनुगमन र मूल्यांकनका साथ कार्यक्रमहरू कार्यान्वयन गरिने जनाइएको छ। स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्ने दिशामा कमलामाई–५ को यो पहललाई उदाहरणीय कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया