शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

अस्तित्व मेटाएर एकता सम्भव छैन : कुलमान

शनिवार , पौष १२, २०८२

काठमाडौँ ,१२ पुस – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व मेटाएर राजनीतिक एकता सम्भव नहुने स्पष्ट पारेका छन् । उनले नयाँ राजनीतिक शक्तिहरूले एक–अर्काको पहिचान स्वीकार गर्दै सम्मानपूर्ण सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले बौद्धमा आयोजना गरेको उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले एकताको अर्थ अरूलाई समाप्त गर्नु नभएको उल्लेख गरे । “एकता भनेको सबैको अस्तित्व स्वीकार गर्दै साझा उद्देश्यका लागि अघि बढ्नु हो,” उनले भने, “सम्मान र सहकार्य बिना दीगो राजनीतिक एकता सम्भव हुँदैन ।”

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीबीच सम्भावित सहकार्य र एकताबारे चर्चा चलिरहेका बेला घिसिङको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनले देशको वर्तमान राजनीतिक अवस्थाले नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशाको माग गरिरहेको बताए ।

जनताको भावना नयाँ राजनीतिक शक्तिहरू एकजुट भएको हेर्न चाहनेतर्फ उन्मुख रहेको उल्लेख गर्दै घिसिङले व्यक्तिगत अहङ्कार र स्वार्थ त्यागेर साझा राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । “जनताले पुरानै अभ्यास होइन, नयाँ आशा खोजिरहेका छन्,” उनले भने, “त्यसका लागि नयाँ शक्तिहरूबीच सहकार्य अपरिहार्य छ ।”

मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीप्रति जनविश्वास क्रमशः बढ्दै गएको दाबी गर्दै पार्टीले देशभर सङ्गठन विस्तारलाई तीव्रता दिएको बताए । सानो अभियानका रूपमा सुरु भएको यात्राले अहिले राष्ट्रिय अभियानको रूप लिँदै गएको उनको भनाइ थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उनले देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रण गरे । निर्वाचनमार्फत इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै नागरिकलाई सचेत र जिम्मेवार भूमिकामा उभिन आग्रह गरे ।

प्रतिक्रिया