शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रहरी छापाविरुद्ध विप्लव माओवादीको चरणबद्ध संघर्ष घोषणा

शनिवार , पौष १२, २०८२

फोटो : Ai

काठमाडौँ,१२ पुस – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रमा रहेको जनकम्युनमा प्रहरीले छापा मारेको घटनाको विरोध गर्दै चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीले उक्त घटनालाई राजनीतिक दमनको संज्ञा दिँदै त्यसविरुद्ध देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको जनाएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले हालको राजनीतिक अवस्था, सरकारको भूमिकालगायत विषयमा विस्तृत छलफल गर्दै संघर्षका कार्यक्रम तय गरेको हो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रहरीले जनकम्युनमा छापा मार्नु शान्तिपूर्ण राजनीतिक गतिविधिमाथिको हस्तक्षेप भएको आरोप लगाइएको छ । पार्टीका अनुसार जनताको अधिकार र संगठनमाथि हुने यस्ता कार्य स्वीकार्य नहुने भन्दै त्यसविरुद्ध जनस्तरबाट प्रतिरोध आवश्यक भएको निष्कर्ष बैठकले निकालेको छ ।

घोषित कार्यक्रमअनुसार पुस १२ गते देशभर एकैसाथ मसाल जुलुस आयोजना गरिने छ । पुस १३ गते सबै जिल्लामा कोणसभा गर्ने, पुस १४ गते विरोध प्रदर्शन गर्ने र पुस १५ गते काठमाडौँमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने पार्टीले जनाएको छ । यी सबै कार्यक्रम शान्तिपूर्ण तर दृढ रूपमा अघि बढाइने जनाइएको छ ।

पार्टी नेतृत्वले सरकारलाई दमनको नीति त्याग्न र राजनीतिक समस्याको समाधान संवादबाट खोज्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जनताको बीचमा रहेका कम्युन र संगठनमाथि हुने छापा तथा दमनले समस्या समाधान हुँदैन, बरु असन्तोष थप चर्किन्छ ।” पार्टीले आफूहरू संविधान, जनअधिकार र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको दाबी गर्दै संघर्षका कार्यक्रम जनचासो र सहभागितासहित सफल बनाइने जनाएको छ ।

उक्त घटनापछि राजनीतिक वृत्तमा चासो बढेको छ। सरकारले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । सुरक्षा निकाय स्रोतका अनुसार जनकम्युनमा गरिएको कारबाही नियमित सुरक्षा जाँचको हिस्सा भएको बताइए पनि नेकपा (माओवादी) ले त्यसलाई योजनाबद्ध दमनका रूपमा व्याख्या गरेको छ । घोषित संघर्षका कार्यक्रमले आगामी दिनमा राजनीतिक वातावरण थप तात्ने संकेत देखिएको छ ।

प्रतिक्रिया