काठमाडौं,११ पुस – फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसभित्र असामान्य तर अर्थपूर्ण राजनीतिक सन्देश देखिएको छ । पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित सात जना प्रभावशाली नेताले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि काँग्रेसभित्र नेतृत्व, पुस्तान्तरण र आन्तरिक सुधारबारे बहस तीव्र बनेको छ ।
निर्वाचन आउन अब करिब ७० दिन मात्रै बाँकी रहँदा दलहरू उम्मेदवार सिफारिस र रणनीतिमा व्यस्त छन् । यस्तो समयमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल काँग्रेसका केन्द्रीय तहका पदाधिकारी तथा अनुभवी नेताहरूले चुनावबाट पछि हट्ने निर्णय गर्नुले पार्टीको आगामी राजनीतिक दिशा र चुनावी रणनीतिलाई लिएर नयाँ प्रश्न खडा गरेको छ ।
चुनाव नलड्ने घोषणा गर्नेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी र मानबहादुर विश्वकर्मा तथा काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी छन् । यीमध्ये केही नेताले स्पष्ट शर्तसहित उम्मेदवारी नदिने बताएका छन् भने केहीले स्वेच्छिक रूपमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क अघि सारेका छन् ।
महामन्त्री गगन थापाले पार्टी नेतृत्व परिवर्तनलाई आफ्नो निर्णयको मुख्य आधार बनाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले नेतृत्व परिवर्तन नभएसम्म निर्वाचन नलड्ने स्पष्ट सन्देश दिएका हुन् । “निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ, त्यो नभए म निर्वाचनमा जान सक्दिनँ,” भन्ने आशयको धारणा थापाले बैठकमा राखेको स्रोतले जनाएको छ ।
थापा पछिल्लो समय काँग्रेसभित्र संगठनात्मक सुधार, आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तनको पक्षमा मुखर रहँदै आएका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक सन्दर्भलाई संकेत गर्दै उनले नियमित वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर मात्रै काँग्रेसले जनविश्वास पुनःआर्जन गर्न सक्ने धारणा सार्वजनिक रूपमा दोहो¥याउँदै आएका छन् । तीन पटक काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित सांसद भइसकेका थापाको नाम यसपटक पनि विभिन्न छ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भए तापनि उनले आफ्नो अडान नबदलेका हुन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने राजनीतिक संस्कार परिवर्तनका लागि आफू उम्मेदवार नबन्ने निर्णय गरेको बताएका छन् । लगातार तीन पटक उम्मेदवार बनिसकेको उल्लेख गर्दै शर्माले यसपटक नयाँ अनुहारलाई अघि सार्न चाहेको बताएका छन् । उनले क्षेत्रमै पुगेर पनि यही प्रस्ताव राखेको जानकारी पार्टी बैठकमा गराएका थिए । शर्माको निर्णयलाई काँग्रेसभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ ।
सहमहामन्त्री बद्री पाण्डेले पनि गृहजिल्ला बाजुरामा उम्मेदवार सिफारिस प्रक्रियाकै क्रममा चुनाव नलड्ने जानकारी गराएका छन् । सांसद र मन्त्री भइसकेको अनुभव उल्लेख गर्दै उनले नयाँ पुस्तालाई अवसर दिनु नै उचित ठानेको बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभामा समेत अनुभव बटुलेका पाण्डे अब एक कार्यकाल पार्टी सुदृढीकरणमै केन्द्रित हुने बताएका छन् ।
पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले दशकौँ लामो चुनावी यात्रापछि उम्मेदवारीबाट विश्राम लिने निर्णय गरेका छन् । पञ्चायत कालदेखि गणतन्त्रसम्म निरन्तर चुनावी मैदानमा रहँदै आएका केसीले अब युवा पुस्ताले नेतृत्व लिनुपर्ने स्पष्ट सन्देश दिएका छन् । राजनीतिबाट अलग नहुने तर प्रत्यक्ष प्रतिस्पर्धामा नजाने उनको भनाइ छ ।
काठमाडौँ–१० बाट तीन पटक निर्वाचित राजेन्द्रकुमार केसीले पनि यही धारणा दोहो¥याएका छन् । पार्टी र सरकारको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्नुपर्ने विश्वासका साथ आफू उम्मेदवार नबन्ने निर्णय गरेको उनले बताएका छन् ।
त्यसैगरी मानबहादुर विश्वकर्माले कुनै पनि लाभको पद नलिने घोषणा गर्दै प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सबै तहमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन् । धादिङ काँग्रेसका सभापति रामनाथ अधिकारीले पनि क्षेत्रीय समितिको बैठकमार्फत आफ्नो दाबी नरहने बताएका छन् ।
यी घोषणाले काँग्रेसभित्र पुस्तान्तरणको बहसलाई नयाँ उचाइमा पु¥याएको छ । अनुभवी नेताहरूको यस्तो कदमलाई केहीले साहसी राजनीतिक निर्णय भनेका छन् भने केहीले चुनावी समयमा पार्टी कमजोर हुने तर्क अघि सारेका छन् । यद्यपि काँग्रेसले फागुन २१ को निर्वाचनमा कसरी सन्तुलन मिलाउँछ र नयाँ अनुहारहरूलाई कति विश्वास गर्छ भन्ने विषयले आगामी दिनमा थप स्पष्टता पाउने देखिन्छ ।