काठमाडौँ,२० कात्तिक – भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनले तत्कालीन सरकारलाई ढाले पनि नेपालको राजनीतिमा दशकौँदेखि जरा गाडेर बसेको पुरानो सोच, शैली र सत्ता–संस्कृतिलाई ढाल्न सकेन । संसद् विघटनपछि देश परिवर्तनको आशामा थियो, तर संसद् निर्माण गर्ने खेल फेरि उही पुराना पात्रकै हातमा फर्किए । ‘म्याजिक नम्बर’ र ‘आलोपालो’को सत्ता–गणितमा पोख्त ती नेताहरू पुनः शक्तिशाली बनेका छन् ।
जेनजी पुस्ताको एकता आन्दोलनको अन्तिम रातमै टुट्यो । भदौ २४ पछि उनीहरू आ–आफ्नै धार र दृष्टिकोणमा विभाजित भए । कसैले आफूलाई अभियन्ता, कसैले निर्णायक भनिदिँदा साझा दृष्टि हरायो । देशलाई नयाँ दिशा दिनुपर्ने अवसर त हातमै थियो, तर साझा नेतृत्वको अभावले आन्दोलनको उपलब्धि धुमिल बनायो । आन्दोलन सफल भएपछि केही समय देश राजनीतिक शून्यमा बाँधियो, त्यसबीच पुराना नेताहरूले पुनः आफ्नो खेल योजनालाई आकार दिए ।
आन्दोलनको नैतिक प्रश्न
जेनजी आन्दोलनको चरम समयमा युवाहरूले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रत्यक्ष नारा र आक्रोशको लक्ष्य बनाए । मुलुकभरका युवाको नाराले देश गुञ्जियो । तर, त्यही आन्दोलनका नाममा अरबौँको भौतिक संरचना ध्वस्त भयो । सिंहदरबर,सर्बोच्च अदालत, संसद् भवन र देशभरका सरकारी सम्पत्तिहरू जल्नु, सहकारी ठगी मुद्दामा जेलभित्र रहेका रवि लामिछानेजस्ता पात्रको राजनीतिक पुनरागमनले नैतिकता र आन्दोलनबीचको रेखा धमिलो बनायो । लामिछानेले जेनजी युवाको दबाबमा फेरि जेल फर्कनुपरेको घटनाले आन्दोलनभित्रकै विरोधाभास उजागर ग¥यो ।
आन्दोलनका क्रममा राष्ट्रका सयौँ होनहार युवाको बलिदान भयो । देशले आर्थिक, भौतिक र नैतिक रूपमा ठूलो घाटा बेहोर्नुप¥यो । आम नागरिकले सोध्न थालेका छन् , “देशले गुमाएको मूल्यको सट्टा के पायो ?” यही प्रश्नको उत्तर दिन असमर्थ जेनजी पुस्ताको विभाजनले आन्दोलनको नैतिक बल कमजोर बनायो ।
पुराना नेताको पुनरागमन
आन्दोलनपश्चात् पुराना दल र नेताहरू पुनः सत्ताको खेलमा फर्किए । हालै १० वटा दलबीच भएको एकताले पनि यही देखाउँछ कि जेनजी आन्दोलनले पुरानो राजनीतिक संरचना हल्लायो, तर ढाल्न सकेन । संविधान र निर्वाचन प्रणाली परिवर्तन नभएसम्म बहुमतको राजनीति असम्भव छ । यही प्रणालीले ‘म्याजिक नम्बर’का खेलाडीहरूलाई पुनः उत्साहित बनाएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनअघि तीनपटक गठबन्धन परिवर्तन गरेर सत्ता सम्हालेका थिए । अब उनले माओवादी केन्द्रलाई एकीकृत समाजवादीसहित ‘नेपाली कम्युनिस्ट पार्टी’मा पुनर्गठन गर्दै नयाँ जालो बुनेका छन् । उनलाई थाहा छ,— एक्लै बहुमत सम्भव छैन, त्यसैले फेरि साना दलहरूको सहारा अनिवार्य छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रतिनिधि सभाको मोहबाट टाढा हुन सकेका छैनन् । विघटनको असफल प्रयासपछि पनि उनी पुनस्र्थापनाको पक्षमा छन् । दोस्रो ठुलो दलको हैसियतमा गठबन्धन गरेर सत्तामा पुग्न सकिन्छ भन्ने विश्वासले उनी फेरि जनमतमा विश्वसनीयता खोज्दैछन् । उनको राजनीतिक गणित अझै पुरानै छ , बहुमत होइन, म्याजिक नम्बर ।
त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा अहिले पनि पार्टीको केन्द्रबिन्दुमा छन् । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिए पनि देउवा आफैं निर्णायक भूमिकामा रहँदै आएका छन् । कांग्रेस अहिले राष्ट्रिय राजनीतिभन्दा बढी महाधिवेशनको तयारीमा केन्द्रीत छ । आगामी नेतृत्व परिवर्तनपछि मात्रै पार्टी पुनः सत्ताको खेलमा सक्रिय हुने सम्भावना देखिन्छ ।
जेनजी कहाँ चुके ?
यदि भदौ २३–२४ को आन्दोलनपछि जेनजी पुस्ता साझा दृष्टिकोण र नेतृत्वमा एकजुट भएका हुन्थे भने आजको राजनीतिक परिदृश्य फरक हुनेथियो । सात दशकदेखि देशको नेतृत्व गर्दै आएका नेताहरू राजनीतिक रिङबाट बाहिरिने सम्भावना थियो । तर, जेनजीले ‘साझा बाटो’ खोज्न नसकेपछि इतिहासले फेरि पुरानै पात्रलाई पुनरागमनको अवसर दियो ।
आज ती नै नेताहरू नयाँ आवरण, नयाँ घोषणापत्र र कहिले नयाँ दलको नाम लिएर मैदानमा फर्किएका छन् । निर्वाचन प्रणाली उही छ — जसले कुनै एक दललाई बहुमत दिन सक्दैन । त्यसैले, पुरानै नेताहरूले ‘म्याजिक नम्बर’का खेलमार्फत सत्ता–स्वाद पुनः चाख्ने तयारी गरिरहेका छन् ।
जेनजी आन्दोलनले सत्ता हल्लायो, तर प्रणाली नबदलिएसम्म परिवर्तनको सपना अधुरो रहनेछ । आजको यथार्थ यही हो । जेनजी जुट्न जान्दैनन्, पुराना नेता थन्किन मान्दैनन् ।