काठमाडौं, २२ असोज – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘जेनजी’ आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध दोस्रो जाहेरी पनि दर्ताका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ ।
बुधबार युवराज सफल नाम गरेका व्यक्तिले बालेन र गुरुङविरुद्ध नयाँ जाहेरी लिएर प्रहरी परिसर पुग्नुभएको हो । परिसरकाप्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवनकुमार भट्टराईले पनि यसबारे पुष्टि गर्दै भन्नुभयो, “उहाँहरूविरुद्ध आज पनि जाहेरी आएको छ । योसँगै दुईवटा जाहेरी प्राप्त भएका छन् ।”
यसअघि मंगलबार मात्रै अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिनुभएको थियो । यद्यपि यी दुवै जाहेरी हालसम्म दर्ता गरिएको छैन ।
प्रहरीका अनुसार यी दुवै जाहेरी २३ र २४ भदौमा भएका घटनासँग सम्बन्धित छन् । सो घटनाबारे विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको उच्चस्तरीय छानबिन आयोगले अध्ययन गरिरहेको छ ।
त्यसैले, प्रहरीले जाहेरीहरू आयोगकै क्षेत्राधिकारमा पर्ने ठहर गर्दै आयोगमा पठाउने तयारी गरेको छ । “प्राप्त भएका जाहेरीहरू आयोगको क्षेत्राधिकारभित्र पर्छन्, त्यसैले हामी आयोगमै पठाउँछौं,” प्रहरी स्रोतले भन्यो ।
त्यस्तै, नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले पनि बालेन र सुदनविरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने निर्णय गरेको छ । अखिलका महासचिव दीपक धामीका अनुसार, “जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएकाले जिम्मेवारका रूपमा बालेन र सुदनविरुद्ध देशैभर जाहेरी दिने निर्णय भएको हो ।”
उहाँले भन्नुभयो, “अड्डा–अदालत, प्रहरी चौकीजस्ता सरकारी संरचनामा आगजनी र तोडफोड भएका छन्। त्यसैले आजदेखि केन्द्रको समन्वयमा सबै जिल्लामा जाहेरी दर्ता गर्ने काम सुरु गर्छौं ।”
मंगलबार काठमाडौं परिसरमा पनि अखिलले जाहेरी दिन पुगेको थियो, तर प्रहरी प्रशासनले तत्काल दर्ता नगरी सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र निर्णय गर्ने जनाएको थियो ।
२३ भदौमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो । त्यस घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध पनि सुदन गुरुङसहितको समूहले जाहेरी दर्ताका लागि प्रयास गरेको थियो । तर, सो जाहेरी पनि प्रहरीमार्फत दर्ता नभई आयोगमा पठाइएको थियो ।
हाल बालेनविरुद्ध सिंहदरबारमा लागेको आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको आरोप लगाउँदै जाहेरीहरू पर्न थालेका हुन् । अब यी सबै जाहेरीहरू प्रहरीमार्फत होइन, आयोगकै फाइलमा पुग्ने देखिएको छ। राजनीतिक र कानुनी दुवै कोणबाट चासो बढ्दै जाँदा बालेन–सुदन प्रकरण अझै तातो बिषय बन्न पुगेको छ ।