शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एमालेभित्र पुनर्गठनको हुंकार : ओलीको नेतृत्वमै प्रश्नचिन्ह

शनिवार , आश्विन ४, २०८२

काठमाडौं, ०४ असोज – जेनजी आन्दोलनपछिको राजनीतिक उतारचढावले एमालेलाई गहिरो बहस र आत्ममन्थनतर्फ धकेलेको छ । संविधान दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक भाषणको साटो सामाजिक सञ्जालमार्फत सन्देश पठाउनु प¥यो, त्यो पनि पार्टीको शक्ति प्रदर्शन वा नेतृत्व क्षमताभन्दा बढी सन्देह र प्रश्नको घेरामा परेको छ । अहिले पार्टी भित्र ओलीको विकल्पको प्रश्न झन् पेचिलो बनेको छ, तर उता नेतृत्व परिवर्तनको माग पनि विस्तारै आवाज उठाउँदैछ ।

च्यासलस्थित पार्टी मुख्यालयमा संविधान दिवसकै सन्दर्भमा भएको छलफलमा नेतादेखि कार्यकर्तासम्मले एमाले पुनर्गठनलाई अनिवार्य शर्तका रूपमा प्रस्तुत गरे । दर्शकदीर्घामा बसेका कार्यकर्तादेखि मञ्चमा रहेका नेतासम्मले एउटै कुरा दोहो¥याए,“ पुनर्गठन नगरी चुनावी मैदानमा जान सकिँदैन ।” यही बहसले अब एमालेमा केवल दोस्रो तहका मात्र नभई तेस्रो तहका नेताहरूसमेत नेतृत्वमा आउनुपर्ने मागलाई बल दिएको छ ।

सचिव योगेश भट्टराईले विधान महाधिवेशनपछि नयाँ परिस्थितिले एमालेलाई जसरी भए पनि पुनर्गठनतर्फ लैजाने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत पार्टीका गल्ती र कमजोरीलाई खुलेर समीक्षा गरेर जनतामाझ पुर्नगठित स्वरूपमा अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको स्पष्ट संकेत गर्नुभयो । उपमहासचिव प्रदीप ज्ञवालीले संविधान दिवसकै कार्यक्रममा अध्यक्ष ओलीकै सन्देश पढेर सुनाए पनि, त्यो सन्देशले आन्दोलन र संगठनात्मक संकटको जवाफ दिन सकेन भन्ने आक्षेप लाग्दैछ ।

एमाले विधान महाधिवेशनले ओलीलाई नै आगामी नेतृत्वका रूपमा अघि बढाउने म्यान्डेट दिएको केही दिनमै जेनजी आन्दोलन भड्किनु र त्यसपछि संगठन पुनर्गठनको आवाज चर्किनु योगायोग मात्र होइन, पार्टीको गहिरो असन्तुष्टि सतहमा आएको प्रमाण हो । कार्यकर्ताले अहिले पार्टीलाई परिवर्तन बिना जनतामाझ जान नसकिने बताएका छन् । ओली निकट नेताहरूले अहिले पुनर्गठनको कुरा अघि सार्नु समयसापेक्ष नभएको तर्क गरे पनि आधार तहमा भने पार्टी परिवर्तनको मागलाई वेवास्ता गर्न सकिने अवस्थामा छैन ।

यसरी हेर्दा एमाले भित्रको संकट केवल आन्दोलनले ल्याएको बाह्य दबाब मात्र होइन, लामो समयदेखिको असन्तोषको विस्फोट हो । ओलीले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न र एमालेलाई सुदृढ बनाउन अब के कदम चाल्छन् भन्ने प्रश्न अझै खुलै छ । ओलीकै वरिपरिको राजनीतिक सम्भावना घुमिरहेको एमालेमा विकल्पहीनताको बहसले उनलाई तात्कालिक रुपमा सुरक्षित राखे पनि, संगठनात्मक पुनर्गठन र नयाँ पुस्ताको सहभागिता बिना एमाले दीर्घकालीन टिकाउ मार्गमा पुग्ने सम्भावना कम हुँदै गएको छ ।

प्रतिक्रिया