काठमाडौं०४ असोज – वैकल्पिक शक्ति भनेर स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गहिरो संकटको डिलमा पुगेको छ । एकातिर सभापति रवि लामिछाने कारागारमा रहनुभएको कारण नेतृत्व शून्यता थपिएको छ भने अर्कातिर पार्टीभित्रको खिचातानी खुलेर सतहमा आउन थालेको छ । यसबीच पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गर्दै नेतृत्वको प्रवृत्तिमाथि खुलेर प्रहार गर्नुभएको छ भने नेतृ तोसिमा कार्कीले चार बुँदामा पार्टी पुनःसंरचनाको माग गर्दै प्रत्यक्ष चुनौती दिनुभएको छ ।
सुमनाको पार्टी परित्याग केवल व्यक्तिगत असन्तुष्टि नभई संस्थागत संकटको प्रतिविम्ब बनेको छ । उहाँले सभापति लामिछानेको ढाल बनेर पार्टीलाई वैचारिक दिशाहीनताको दलदलमा धकेलेको आरोप लगाउनुभयो । यही घडीमा तोसिमा कार्कीले उठाएको नेतृत्व परिवर्तन, नयाँ विचार र युवा सहभागिताको खाँचोबारेको मागले रास्वपाको भविष्यबारे थप बहस चर्काइरहेको छ । यसले पार्टी छाड्न सक्ने नेताहरू सन्तोष परियार, गणेश कार्की लगायतलाई पनि बढी चर्चामा ल्याएको छ ।
भदौ २३–२४ को जेनजी आन्दोलनपछि रास्वपाले पाएको लोकप्रियता र सहानुभूति अकस्मात ध्वस्त भएको छ । आन्दोलनकै बीच नख्खु कारागारबाट रवि लामिछाने फिल्मी शैलीमा बाहिरिँदा केही समय पार्टीभित्र विजयोत्सवको वातावरण बनेको थियो । तर तुरुन्तै त्यसैको प्रतिकृति भन्दै देशभर १५ हजार कैदी भागेको भन्ने आलोचना फैलिएपछि रास्वपाको नैतिकता नै सवालमा पर्यो । हस्ताक्षर अभियानमार्फत पाएको जनसमर्थन पनि ओझेलमा पर्न पुग्यो ।
रास्वपाको संरचनागत कमजोरी पनि अहिलेको संकटमा महत्वपूर्ण कारण बनेको छ । स्थापना भएको तीन वर्ष पुग्दा पनि महाधिवेशन गर्न नसक्नु, वैचारिक र राजनीतिक दृष्टिकोण स्पष्ट पार्न असफल हुनु, संस्थापक नेताहरू बर्खास्तीमा परिनु, सहकारी घोटाला र नागरिकता विवादजस्ता मुद्दामा सभापति स्वयं उल्झिनु यी सबैले रास्वपाको ‘वैकल्पिक शक्ति’ को दाबीलाई खोक्रो बनाइरहेको छ । चितवनमा आगामी फागुनमा महाधिवेशन गर्ने निर्णय भए पनि सभापति कारागारमा रहेका बेला त्यो सम्भव हुने÷नहुनेमा नै अन्योल छ ।
२०८० मंसिरमा ‘पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली’ को नीति लिएको रास्वपाले त्यसपछिको अवधिमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री–मुख्यमन्त्री, गैर–राजनीतिक राष्ट्रपतिको अवधारणा जस्ता एजेन्डा अघि सारेको थियो । तर यी एजेन्डा ठोस कार्ययोजना भन्दा बढी नाराजस्ता मात्र सिद्ध भए । अहिले पार्टी भित्रको विभाजन र विद्रोहले यी प्रस्तावहरू पनि जनतामाझ आकर्षक बन्न नसकेको देखिन्छ ।
नेपालका ठूला दल काँग्रेस, एमाले र माओवादी समेत आन्तरिक चुनौतीसँग जुझिरहेका बेला रास्वपा पनि यस्तै उकुसमुकसमा फँस्नु नयाँ दलहरूको स्थायित्वबारे गम्भीर प्रश्न खडा गर्छ । सुमना श्रेष्ठको प्रस्थान र तोसिमा कार्कीको विद्रोहसँगै रास्वपा अब केवल नेतृत्वको मात्र होइन, अस्तित्वकै संकटमा तानिएको प्रष्ट देखिन थालिएको छ ।
वैकल्पिक शक्ति भनेर जनताले विश्वास गरेका रास्वपाले संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र पारदर्शी नेतृत्व शैली अपनाउन नसके वर्तमान संकट पार्टीको मात्र नभई नेपाली राजनीतिमा नयाँ दलहरूको भविष्यबारे गहिरो संशयको सूचक बन्न सक्छ ।