काठमाडौँ , ०३ असोज– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको गोलीकाण्डप्रति गम्भीर प्रतिक्रिया जनाउँदै त्यस दिन कुनै पनि किसिमको ‘गोली हान्ने आदेश’ नभएको दाबी गर्नुभएको छ ।
संविधान दिवसको अवसर पारेर शुक्रवार शुभकामना सन्देश सार्वजनिक गर्दै उहाँले जेनजीले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरिएका कारण हिंसा भड्किएको दाबी गर्नुभयो । ओलीका अनुसार सुरक्षाकर्मीले ताकीताकी गोली हानेको आदेश सरकार वा नेतृत्वबाट आएको थिएन, बरु प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरेर आक्रमण भएको हुनसक्ने भन्दै यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भदौ २३ गते संसद भवन अगाडि भएको घटनामा १७ युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गदै र घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गर्नुभयो । ओलीले भन्नुभयो, “शान्तिपूर्ण प्रदर्शनको नाममा षड्यन्त्रकारीहरूले हिंसा मच्चाएर हाम्रो देश र संविधानमाथि ठूलो आक्रमण गरेका छन् ।” उहाँका अनुसार यो केवल आकस्मिक घटनामात्र नभई योजनाबद्ध षड्यन्त्र पनि हुनसक्छ जसको वास्तविकता समयक्रममै उजागर हुनेछ ।
ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै सिंहदरबारदेखि संसद भवन, न्यायालय, जनप्रतिनिधि संस्था, व्यापारिक प्रतिष्ठानदेखि दलका नेताका व्यक्तिगत घरसमेत छानीछानी जलाइएको घटनाको स्मरण गर्दै यो देशलाई अस्थिर बनाउने ठूलो खेलको हिस्सा भएको आरोप लगासनुभयो । उहाँले नेपालको नक्सा जलाएर राष्ट्रिय प्रतीकमाथि समेत प्रहार गरिएको उल्लेख गर्दै नयाँ पुस्ताले यस्ता घटनाबाट सत्य पहिचान गर्ने दिन आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अन्त्यमा लेख्नुभएको छ,, “देश निर्माणको बाटोमा हिँडिरहेको थियो कि बिग्रनेतर्फ तानिएको थियो, वा देश बिग्रेको भ्रामक कथा खडा गरेर आक्रोश फैलाइएको मात्र थियो—यी प्रश्नहरूको जवाफ नयाँ पुस्ताले आफैं अनुभूत गर्नेछ।” ओलीको भनाइले हालैको राजनीतिक घटनाक्रम र हिंसात्मक प्रदर्शनलाई लिएर सत्ता, विपक्ष र सुरक्षातन्त्रबीचको आरोप–प्रत्यारोपलाई अझ चर्को बनाएको देखिन्छ ।”