काठमाडौँ,०२ असोज – नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोनमार्फत सौहार्दपूर्ण वार्ता सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै दुवै देशबीचको ऐतिहासिक र गहिरो मित्रता स्मरण गर्नुभएको थियो । सो अवसरमा उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिबारे जानकारी गराउँदै भारतसँगको सहयोग र समझदारी अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रधानमन्त्री मोदीले पनि नेपालकी नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा असल छिमेकीका हैसियतले भारत नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन तत्पर रहने बताउनुभएको थियो । उहाँले भारतले निरन्तर नेपाललाई सहयोग पु¥याउने आश्वासन दिँदै दुई मुलुकबीच रहेका आपसी हितका विषय र साझा चासोलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका प्रधानमन्त्रीहरूबीचको सो फोनवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम, द्विपक्षीय हितका क्षेत्र, आपसी सहयोगका सम्भावना र क्षेत्रीय–वैश्विक परिप्रेक्ष्यमा साझा सरोकारका विषयबारे पनि विस्तृत छलफल भएको छ । यसलाई दुई छिमेकी मुलुकबीचको कूटनीतिक सम्बन्ध अझ सुदृढ बनाउन महत्त्वपूर्ण संवादका रूपमा लिइएको छ ।