शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

ओलीको विकल्प खोजिँदै, एमाले अझै उनको छायामा

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ,०२ असोज – एमालेभित्र अहिलेको प्रमुख बहस केपी शर्मा ओलीको नेतृत्वलाई लिएर केन्द्रित भएको छ । पार्टी विधान महाधिवेशनमार्फत तेस्रो कार्यकाल सुरक्षित गर्न उहाँले अघि सारेका संशोधनहरू अझै चर्चाको विषय बनेका छन् । उमेर सीमा ७० वर्ष हटाउनु होस् वा दुई कार्यकालको प्रावधान खारेज गर्नु, यी सबै प्रावधान ओलीकै निरन्तरताका लागि तयार पारिएको भन्ने धारणा धेरै नेताहरूले सार्वजनिक गरेका छन् ।

तर, जेन–जी आन्दोलनले देशलाई राजनीतिक अशान्ततामा धकेलेपछि ओलीको योजनामा ठूला धक्का लागेको छ । प्रधानमन्त्री पदबाटै अपदस्त हुनु केवल व्यक्तिगत हार मात्र नभई उहाँको राजनीतिक भविष्यप्रतिको ठुलो प्रश्नचिन्ह बनेको छ । प्रधानमन्त्रीबाटै अपदस्त हुन पुग्नुभएका ओली अहिले पार्टी नेतृत्व नै हस्तान्तरण गर्न नसक्ने अवस्थामा हुनुहुन्छ भन्ने देखिँदै छ ।

आन्दोलनपछिको परिस्थितिले एमालेभित्रै गम्भीर प्रश्न उठेको छ, अब पनि ओलीकै काँधमा पार्टी टेकेर हिँड्न सकिन्छ त ? योगेश भट्टराई, गोकुल बाँस्कोटा, उषाकिरण तिम्सिना लगायत नेताहरूले स्पष्ट रूपमा ओलीले अब बाटो खोलिदिनुपर्ने बताउनुभएको छ । उहाँहरूको भनाइमा, आन्दोलन र त्यसपछि उत्पन्न भएको संकटले ओलीलाई नैतिक रूपमा कमजोर बनाइसकेको छ । तर अर्कोतर्फ ओलीका निकट सहयोगी शंकर पोखरेल, महेश बस्नेतजस्ता नेताहरू अहिले नै विकल्प खोज्ने बेला नभएको अडानमा हुनुहुन्छ । यही कारण पार्टीभित्र नेतृत्वको बहस खुलेर अघि बढ्न सकेको छैन । महासचिव पोखरेलले फेसबुकमार्फत ‘मनन गर्नुपर्ने ९ कुरा’ प्रस्तुत गरे पनि उहाँले ओलीको नेतृत्व त्याग्नुपर्ने विषयलाई खुलेर सम्बोधन गर्न सक्नुभएको छैन् ।

त्यसबाहेक, ओलीको व्यक्तिगत अवस्था पनि चर्चा योग्य छ । आन्दोलनकै बीचमा हेलिकप्टर चढेर बालुवाटार छाडनुभएका उहाँ अहिले पनि सेनाको व्यारेकमै सीमित हुनुहुन्छ । अरु दलका शीर्ष नेता र मन्त्रीहरू सार्वजनिक भइसकेका बेला ओली अझै बाहिर आउन नसक्नु उहाँको त्रासप्रति संकेत गर्छ । कतिपयले यसलाई उहाँले सत्तामा रहँदा गरेका कुकर्महरूको परिणाम भनेर व्याख्या गरेका छन् । एमालेभित्र भने संविधान दिवस (असोज ३) का दिन ओली सार्वजनिक हुने अडान देखिएको छ, तर त्यो दावीलाई औपचारिक रुपमा लिन सकिने आधार छैन ।

नतिजा स्वरूप, एमाले अहिले नेतृत्वविहीन अवस्थामा त छैन, तर नेतृत्वसँग विश्वासको संकट भने गहिरिँदै गएको छ । जेन–जी आन्दोलनले ल्याएको आँधीबेहेरीले ओलीको राजनीतिक भविष्य मात्र होइन, ओलीको तेस्रो कार्यकालप्रतिको आकांक्षा समेत धराशायी बनाइदिएको छ । तर ओलीले अझै पनि पद नछाड्नु, नेताहरूले पनि खुलेर विकल्प नखोज्नु, यसले एमालेमा अझै ओलीकै नियन्त्रण रहने देखाउँछ । भ्रष्टाचार, कुशासन र बेथितिविरुद्धको आक्रोशबीच पनि ओली फेरि सत्तामा फर्किने सपना देखिरहनुभएको छ, र यही कारण उहाँलाई एमालेभित्र ‘सर्वेसर्वा’को रुपमा व्याख्या गरिन थालिएको छ ।

एमाले अहिले नेतृत्वविहीन भएजस्तो देखिए पनि वास्तविकतामा अझै ओलीकै छायामा बाँधिएको छ । भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध जनआक्रोश चुलिँदा पनि ओलीले सत्तामा फर्किने सपना छाडनुभएको छैन् । यसले उहाँको ‘सर्वेसर्वा’ भूमिकालाई अझै जीवित राखेको छ, तर सोही भूमिकाले एमालेभित्र नयाँ पुस्ता र वैकल्पिक नेतृत्वको आकांक्षालाई निरन्तर दबाइरहेको पनि देखिन्छ ।

प्रतिक्रिया