काठमाडौं ,०१ असोज – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशभर राजनीतिक तरंग ल्याउँदा केही शक्ति केन्द्रले आफ्नो हितअनुकूल ‘धमिलो पानीमा माछा मार्ने’ कोसिस गरे । त्यसमध्ये सबैभन्दा ठूलो लक्ष्य तत्कालीन गणतान्त्रिक व्यवस्थालाई उल्ट्याएर राजतन्त्र पुनःस्थापना गर्ने राजावादीहरुको योजना थियो । तर त्यो प्रयास समयमै ध्वस्त भयो, जसले अन्ततः राजावादीहरुको महत्वाकांक्षा ‘हावामा महल’ सावित गरिदियो ।
राज्यका मुख्य संरचना—व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका—देखि प्रदेश र स्थानीय तहसम्म ठप्प पारिएको जेनजीको उग्र चरणमा, भदौ २४ गते राति १० बजेपछि नेपाली सेनाले प्रत्यक्ष सुरक्षा जिम्मा लियो । तर यसअघि नै राज्यका महत्वपूर्ण निकायहरु खरानी भइसकेका थिए भने,साततारे होटलदेखि सुपरमार्केट, उद्योगधन्दा र पर्यटन पूर्वाधारसम्म ध्वस्त भइसकेका दृश्यले व्यवस्था गम्भीर संकटमा फसेको संकेत दिइसकेको थियो । यस्तो बेलामा सेनापति अशोककुमार सिग्देलले आन्दोलनकारीहरुसँग वार्ताको पहल गरे पनि जेनजीको वास्तविक नेतृत्व को हो भन्ने नै स्पष्ट हुन सकेन । जंगी अड्डाको आँगनमा आन्दोलनका थुप्रै समूह देखिए, जसले आन्दोलनको साझा एजेन्डामै अन्योल पैदा गरिदियो ।
यही गडबडीबीच विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको जंगी अड्डा प्रवेशले थप तरंग ल्यायो । प्रधानसेनापतिसँग लामो समय भेटघाट गरेर उहाँले सेनाले सत्ता हातमा लिनुपर्ने सुझाव सार्वजनिक गरिदिनुभयो । सेनाले त्यसपश्चात उपत्यका र बाहिरबाट थप फौज भिœयायो, जबकि शीर्ष नेताहरु, पूर्वमन्त्रीदेखि राष्ट्रपतिसम्म, सैनिक ब्यारेकमै सीमित गरिएका थिए ।
तर आन्दोलनकै बीचमा अर्को नयाँ मोड आयो । साझा एजेन्डा र अन्तरिम सरकारको नेतृत्व कसले लिने भन्ने विवाद चर्किँदै गइरहेका बेला जेनजीलाई आफ्नो नेतृत्वमा दावी गर्दै सुदन गुरुङ देखापर्नुभयो । उहाँ प्रत्यक्ष शीतल निवाससम्म पुगेर वार्तामा संलग्न हुनुभयो । सो क्रममा संसद विघटन र जेनजीले सिफारिस गरेको नाममा अन्तरिम सरकार बनाउने सहमति समेत राष्ट्रपति रामचन्द्र पौडेलसँग बनेको थियो । अन्ततः संविधानकै धारा ६१ मा टेकेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि आन्दोलनको उग्र रूप नियन्त्रण गर्न सजिलो भएन ।
यही बहुल नेतृत्व र ‘कसको हातमा आन्दोलन’ भन्ने अलमलकै कारण राजावादीहरुको योजना सफल हुन सकेन । भदौ २६ गते राति पूर्वराजा फर्काउने हल्ला फैलिएको थियो, तर त्यो केवल सामाजिक सञ्जाल र विदेशी मिडियाको सनसनीमा सीमित रह्यो । वास्तविक राजनीतिक प्रक्रिया भने गणतान्त्रिक संरचना भित्रै समाधान खोज्ने बाटोमा अग्रसर भयो ।
अन्ततः, जेनजी आन्दोलनमा घुसपैठ गर्ने र आफ्नो हित सुरक्षित गर्न खोज्ने विभिन्न शक्ति केन्द्रहरुको चलखेलले आन्दोलनलाई थप अविश्वसनीय बनायो । राष्ट्रपति पौडेलले संविधान जोगाउन दलहरुलाई गरेको अपिल र अन्तरिम सरकारसम्म पुगेको प्रक्रिया यसैको प्रमाण हो । राजावादीहरुको योजना असफल हुनु भनेको मुलुक फेरि पनि गणतन्त्रकै बाटोमा टेकेर अगाडि बढेको प्रष्ट संकेत हो ।