काठमाडौं,३० भदौ – नेपालको संसदीय अभ्यास इतिहासमा प्रतिनिधि सभाको विघटन कुनै नयाँ घटना होइन, तर यसपटकको विघटन अघिल्लाभन्दा केही भिन्न देखिन्छ । २०७९ पुस २५ मा सुरु भएको कार्यकाल अझै करिब आधा बाँकी रहँदै २०८२ भदौ २७ मा प्रतिनिधि सभा विघटन भएको हो । यसअघि प्रधानमन्त्रीले संसद्बाटै निर्वाचित भएर सिफारिस गर्ने परम्परा थियो, तर यसपटक आन्दोलनको बलमा बनेको गैरसांसदीय प्रधानमन्त्रीबाट विघटन सिफारिस गरिएको छ । यो संविधान र लोकतान्त्रिक अपेक्षाविपरीत भएको भन्दै आठ राजनीतिक दलहरूले विरोध जनाएका छन् ।
नेपालको इतिहासमा जननिर्वाचित सभाले पूर्ण कार्यकाल पूरा गरेको उदाहरण कमै पाइन्छन् । २०५१ र २०७४ मा निर्वाचित सभाले मात्र सर्वोच्च अदालतको हस्तक्षेपका कारण कार्यकाल पूरा गरेका हुन्, अन्य अधिकांश प्रतिनिधि सभा राजनीतिक संकट, दलभित्रको कलह र शासकको महत्वाकांक्षाको बलिबेदीमा चढ्न पुगेका छन् । पहिलो पटक २०१५ सालको निर्वाचनपछि बनेको संसद् तत्कालीन राजा महेन्द्रको २०१७ सालको ‘कु’ को सिकार बन्यो । त्यसपछि पञ्चायती प्रणाली स्थापनासँगै लामो समयसम्म बहुदलीय संसदीय अभ्यास ठप्प रह्यो ।
२०४८ सालमा नयाँ संविधानपछि निर्वाचित संसद् पनि लामो समय टिकेन । आन्तरिक कलहकै कारण काँग्रेस सरकारले मध्यावधि निर्वाचनको बाटो रोज्नुप¥यो । २०५१ मा निर्वाचित सभाले दुई पटक विघटनको मार खेपेर पनि अन्ततः कार्यकाल पूरा गर्न सक्यो, तर त्यो पनि सर्वोच्च अदालतको पुनःस्थापनाबाट सम्भव भएको थियो । २०५६ मा निर्वाचित सभा चाहिँ माओवादी द्वन्द्व र तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष हस्तक्षेपकै कारण २०५९ सालमै विघटन भयो, जसपछि पुनःस्थापना र गणतन्त्र घोषणासम्मको ऐतिहासिक यात्रामा मुलुक प्रवेश ग¥यो ।
संघीय संरचनामा पहिलोपटक २०७४ मा निर्वाचित सभाले पनि स्थायित्व पाउन सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटनको सिफारिस गर्नुभयो, जुन दुवै पटक सर्वोच्च अदालतले बदर ग¥यो । यसरी नेपालमा प्रतिनिधि सभाको यात्रा प्रायः अधुरै रहने परम्परा झल्किन्छ । कहिले ‘कु’, कहिले दलभित्रको किचलो र कहिले प्रधानमन्त्रीको महत्वाकांक्षाका कारण, जनप्रतिनिधिमूलक संस्था बारम्बार असफलताको कथा बन्न पुग्यो ।
यसपटक पनि संविधान र नागरिक अपेक्षाविपरीत विघटन हुँदा इतिहास दोहोरिएको छ । अदालत र सडक–दुवै मोर्चामा फेरि परीक्षणमा परेको संसद्को भविष्य कस्तो बन्ने हो भन्ने प्रश्नले देशलाई अनिश्चिततामा धकेलेको छ ।